Tuesday, February 7, 2012

सरकारले महँगो सुनचाँदीलाई झन् महँगो बनायो

काठमाडौं, २४ माघ- सरकारले सुन र चाँदीको भन्सार दरमा भारी मात्रामा वृद्धि गरेको छ । मन्त्रिपरिषदको मंगलबार अपराह्न बसेको बैठकले सुनमा प्रति दस ग्राम १५ सय र चाँदीमा प्रतिकिलोग्राम ४६ सय रुपैयाँ भन्सार दर कायम गरेको छ ।
सरकारले सुनमा प्रतिग्राम ५ सय र चाँदीमा प्रतिकिलो २२ सय रुपैयाँ भन्सार वृद्धि गरेको हो । यसअघि सुनमा प्रति दस ग्राम १ हजार र चाँदीमा प्रतिकिलो २४ सय रुपैयाँ भन्सार थियो । नेपालमा सस्तो भएकाले सुन र चाँदी भारततर्फ बढ्न थालेको तस्करीलाई रोक्न भन्सार दर वृद्धि गर्नुपरेको जानकारी अर्थमन्त्रालयका अधिकारीले दिए ।
भन्सार वृद्धिपछि अब नेपाल र भारतमा सुन र चाँदीको मूल्य समान हुनेछ । भन्सार वृद्धिपछि महँगो पहेंलो धातु सुनको मूल्य प्रतितोला करिब साँढे पाँच सय रुपैयाँले बढ्नेछ । विनियोजन ऐनले मन्त्रिपरिषदलाई भन्सार दरमा घटबढ गर्न दिएको अख्तियारीभित्र रही सुन र चाँदीको भन्सार दर परिवर्तन गरिएको जानकारी भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले दिए ।
योजना आयोगमा मिकरानी
सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा। अब्दुलरहिम मिकरानीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदले सत्तारुढ मधेशी मोर्चाको सिफारिसमा उनलाई सदस्य नियुक्त गरिएको हो । मिकरानी कृषिविद् हुन् । यसअघि नै आयोगमा माओवादीका तर्फबाट उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री र सदस्यमा जनकराज शाह र शिवकुमार राईलाई नियुक्त गरिएको छ । यसपटक मोर्चाका तर्फबाट एक जना सदस्य थपिएको हो ।
महावीर जयन्तीमा बिदा
सरकारले जैन धर्मका प्रवर्तक महावीरको जयन्तीका दिन जैन धर्मावलम्बी राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जैन धर्म र महावीरको सम्मानस्वरुप सरकारले बिदा दिने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिए ।

No comments:

Post a Comment