Wednesday, February 22, 2012

सफाइ पाएका एआईजीद्वय खड्का र शाही राम्रो ठाउँको खोजीमा

आफूलाई दायित्वविहीन बनाउन लागिएकामा दुवै जना असन्तुष्ट
काठमाडौं, १० फागुन- सरकारले नेपाल प्रहरीको सुडान घोटाला प्रकरणमा विशेष अदालतबाट सफाइ पाई निलम्बन फुकुवा भएका अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी द्वय मदनकुमार खड्का र अर्जुनजंग शाहीलाई गृह मन्त्रालयमा रहेको दुई विशेष दरबन्दीमा राख्ने गृहकार्य सुरु गरेको छ । सफाइ पाएपछि आफूले पुरानै पदमा बहाल हुनु पाउनुपर्नेमा आफूहरुलाई दायित्वविहीन बनाई गृह मन्त्रालयमा राख्न लागिएपछि खड्का र शाही असन्तुष्ट भएका छन् । उनीहरुले कि आफूलाई पुरानै ठाउँमा राख्न या प्रहरीभित्रै दरबन्दी थप गरी दायित्व दिन गृह मन्त्रालयमा लबिङ गरिरहेका छन् ।
विशेष अदालतले सुडान घोटाला प्रकरणमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका दुई एआईजीको पदलाई सरकारले गृह मन्त्रालयको विशेष दरबन्दीमा सारी तिनको ठाउँमा डीआईजीद्वय नवराज ढकाल र भीष्म प्रसाईंलाई बढुवा गरिसकेकाले सफाइ पाएका खड्का र शाहीलाई पदस्थापन गर्न समस्या परेको हो । सुडान प्रकरणमा ३१ प्रहरीले सफाइ पाई निलम्बन फुकुवा भए पनि खड्का र शाहीबाहेक अरुको दरबन्दीमा बढुवा नगरिएकाले अरु पदमा भने समस्या नभएको हो ।
नेपाल प्रहरीमा एआईजीको दरबन्दी आठवटा छ । खड्का र शाही निलम्बन फुकुवा भएपछि एआईजीको संख्या १० जना पुगेको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान, महानगरीय आयुक्तको कार्यालय, प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालयमा रहेका चार विभाग प्रशासन, अपराध अनुसन्धान, कार्य, मानव स्रोत र प्रहरी महानिरीक्षकको कार्यालयमा गरी आठवटा एआईजी दरबन्दी छ ।
आठवटा दरबन्दीमा आठै जना एआईजी कार्यरत छन् । बाँकी दुई जनालाई कहाँ पदस्थापन गर्ने समस्या भन्ने परेपछि गृह मन्त्रालयले खड्का र शाहीलाई गृह मन्त्रालयमा रहेको विशेष दरबन्दीमा पदस्थापन गर्ने गृहकार्य सुरु गरेको हो ।
निलम्बन हुनुअघि खड्का प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग र शाही महानगरीय प्रहरी आयुक्तको कार्यालयको प्रमुख थिए । दुवैले आफूले पुरानै पदमा बहाल हुन पाउनुपर्ने माग गर्दै आएका छन् । हाल नयाँ बढुवा भएका दुई एआईजीमध्ये नवराज ढकाल मानव स्रोत विभाग र नवराज ढकाल कार्य विभागमा छन् । हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुखमा एआईजी कुवेरिसंह राना छन् ।
सरकारले पछि बढुवा भएका ढकाल र प्रसाईंलाई गृह मन्त्रालयको विशेष दरबन्दीमा राख्नुपर्नेमा खड्का र शाहीलाई राख्न लागेको हो । गृह मन्त्रालय र प्रहरी संगठनको नेतृत्वसित ढकाल र प्रसाईंको बढी पहुँच र प्रभाव भएकाले उनीहरुको सट्टा खड्का र शाहीलाई मन्त्रालयमा राख्न लागिएको स्रोतले उल्लेख गरेको छ ।
प्रहरीभित्र खड्का र शाहीलाई व्यवस्थापन गर्न दुई एआईजी पद थप गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ । यो अभियानमा खड्का र शाहीसमेत लागेका छन् । प्रहरीमा दुई एआईजी दरबन्दी थपिएपछि तत्काललाई प्रहरी निरीक्षकदेखि डीआईजीसम्मको बढुवा हुने भएकाले यसतर्फ आवाज उठ्न थालेको जानकारी स्रोतले दिए ।

No comments:

Post a Comment