Tuesday, February 21, 2012

भ्रष्टाचार प्रमाणित भएपछि गुप्ताको मन्त्री र सभासदबाट स्वतः पदमुक्त

गुप्ताको राजनीतिक जीवन समाप्त, अब चुनाव लड्न नपाउने
काठमाडौं, ९ फागुन- सर्वोच्च अदालतले सूचना तथा साचारमन्त्री जयप्रकाश गुप्तालाई अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरेपछि मंगलबार नै उनी मन्त्री र सभासदबाट स्वतः पदमुक्त भएका छन् । भ्रष्टाचार गरेको अभियोगमा अन्तिम अदालतबाट सजाय पाउने गुप्ता पहिलो बहालवाला मन्त्री हुन् ।
०४६ सालमा प्रजातन्त्र आएपछि मुलुकमा भ्रष्टाचार गरेको अभियोगमा सजाय पाउने गुप्ता दोस्रो राजनीतिक व्यक्ति हुन् यसअघि कांग्रेसका केन्द्रीय सदस्य एवंं पूर्वमन्त्री चिराजीवी वाग्लेले अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा जेल सजाय पाएका थिए । उनी हाल जेल सजाय भोग्दैछन् ।
सर्वोच्चका न्यायाधीशद्वय सुशील कार्की र तर्कराज भट्टको इजलाशले गुप्ताले गैरकानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरी कैद सजाय र जरिवाना गरेको हो । संविधानअनुसार अन्तिम अदालत सर्वोच्चबाट नैतिक पतन देखिने कसुर प्रमाणित भएकाले उनी मन्त्री र सभासदबाट स्वतः पदमुक्त भएको कानुनविदहरुले बताए । कानुनविदका अनुसार भ्रष्टाचार ठगी चोरी किर्ते जालसाजीलाई नैतिक पतन ठानिने कसुर मानिन्छ । २०१६ वैशाख ६ गते जन्मेका गुप्ताको मधेसी जनतामा बलियै पकड थियो । उनी सप्तरी-२ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी एकपटक राज्यमन्त्री र चारपटक मन्त्री भइसकेका नेता हुन् ।
संविधानको धारा ६७ मा अन्तिम अदालतले नैतिक पतन देखिने फौजदारी अपराधमा कसुरदार ठहरेमा मन्त्री र संविधानसभा सदस्यबाट स्वतः पदमुक्त हुने व्यवस्था छ यही व्यवस्थाअनुसार उनी मन्त्री र सभासदबाट स्वतः पदमुक्त भएका हुन् । सर्वोच्चको फैसला आइपुगेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्री र सभामुख सुवास नेम्वाङले सभासदबाट उनी पदमुक्त भएको घोषणा गर्ने स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्चको फैसलापछि आफ्नो सहयोगी र मधेसी मोर्चाका नेताहरुसित गुप्तालाई मन्त्रीबाट तत्काल बर्खास्ती या राजिनामा के गराउने भनेर छलफल गरिरहेको जानकारी उनका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले दिए । फैसलापछि उनले आफूले मन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।
संविधानसभा सचिवालयले सर्वोच्चको फैसला आएपछि सभामुख सुवास नेम्वाङले गुप्ता नैतिक पतन देखिने फौजदारी अपराधमा कसुरदार ठहरिएकाले उनको पद स्वतः रिक्त भएको घोषणा संविधानसभा÷संसद बैठकमा गर्नेछन् । संसद बैठक नबसेको बेला परेमा भने सभामुखले संविधानको धारा ६७ अनुसार गुप्ता नैतिक पतन देखिने फौजदारी अपराधमा कसुरदार ठहरिएकाले गुप्ताको पद स्वतः रिक्त भएको सूचना संविधानसभा सचिवालयमा प्रकाशित गर्नेछन् ।
अन्तिम अदालतबाट गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको प्रमाणित भएपछि मधेश राजनीतिमा राम्रो सम्भावना भएका नेता गुप्ताको राजनीतिक जीवन समाप्त भएको छ । निर्वाचनसम्बन्धी कानुनअनुसार अब उनी जेल सजाय भुक्तान भएपछि पनि कुनै पनि जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार हुन पाउँदैनन् । कुनै पनि जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार हुन नपाउने र सार्वजनिक पदमा समेत जान नमिल्ने भएका कारण उनको राजनीतिक जीवन समाप्त भएको हो ।
अध्यक्ष गुप्ता जेल गएपछि उनको नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक ले नेतृत्व गुमाएको छ । गणतान्त्रिकमा गुप्ताजस्तो सबैले स्वीकार्ने खालको सर्वसम्मत नेताको कमी छ । 'नैतिक पतन देखिने भ्रष्टाचार गरेको प्रमाणित भएपछि निर्वाचनसम्बन्धी कानुनअनुसार गुप्ता अब असल मतदातामात्र हुन पाउँछन् उम्मेदवार हुन पाउँदैनन्' पूर्व कानुन सचिव मोहन बाजाडेले कान्तिपुरसित भने । निर्वाचनसम्बन्धी ऐनको उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्थामा भ्रष्टाचारको कसुरमा अदालतको अन्तिम फैसलाबाट सजाय पाएको व्यक्ति चुनाव लड्न नपाउने व्यवस्था छ ।
कांग्रेस राजनीतिमा रहँदा गुप्ता धेरै लामो समय कोइराला परिवारको विश्वासप्राप्त थिए । उनले २०४७ सालसम्म कांग्रेस राजनीतिसँगै पत्रकारितासमेत गर्दै आएका थिए । उनी २०४७ सालसम्म देशान्तर साप्ताहिकका विशेष संवाददाता र स्थापित स्तम्भकार थिए । उनी २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि प्रेस सल्लाहकार भए ।
२०५१ सालमा सप्तरीबाट सांसद निर्वाचित भए र उनी लगत्तै परराष्ट्र तथा मानव अधिकार समितिको सभापतिसमेत भए । उनले राजनीतिमा फड्को मार्दै गए र २०५४ असोज २१ मा सूर्यबहादुर थापा नेतृत्वको कांग्रेस-राप्रपा गठबन्धन सरकारमा उनी सूचना तथा साचार राज्यमन्त्री भए । कोइरालाको नेतृत्वमा २०५७ माघ २५ मा गठित सरकारमा गुप्ता कृषि तथा सहकारीमन्त्री भए । देउवाको नेतृत्वमा २०५८ साउन ११ मा गठित सरकारमा गुप्ता सूचना तथा साचार मन्त्री भएका थिए ।
कांग्रेसको २०५७ सालमा पोखरामा सम्पन्न महाधिवेशनपछि गुप्ता पार्टीको मनोनीत केन्द्रीय सदस्य भए । कोइरालाले पार्टीको महत्वपूर्ण प्रचार विभाग प्रमुखसमेत बनाएका थिए । साचारका ठाउँमा आफूलाई कृषि मन्त्रालय दिइएपछि गुप्ता क्रमशः कोइरालासित टािढंदै कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवाको नजिक हुन पुगे ।
कांग्रेस विभाजन भएपछि गुप्ता देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसतिर लागे । कांग्रेस एकीकरण भएपछि उनी कांग्रेसी राजनीतिमा खासै सकि्रय भएनन् । त्यसपछि गुप्ताको राजनीतिक सकि्रयता गोप्य र रहस्यपूर्ण छ । उनी भित्रभित्र मधेसी जनअधिकार फोरम गठन गराएर मधेस आन्दोलनको पृष्ठभूमि बनाउन लागे । तर आफैंले जन्माएको फोरममा सुरुमा उनी लागेनन् । उनी पछि कांग्रेस र कम्युनिस्टबाट मधेसी नेताहरुले विद्रोह गरी महन्थ ठाकुरको अध्यक्षतामा मधेसी पार्टी गठन गर्ने गोप्य तयारीमा लागे । तर उनी पछि ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा भने लागेनन् । संविधानसभा चुनाव नजिक आएपछि उनी मधेसी जनअधिकारी फोरममा लागेर सहअध्यक्ष भए ।
फोरम संविधानसभा चुनावमा चौथो ठूलो पार्टीका रुपमा स्थापित भयो । उनी संविधानसभा चुनावपछि २०६५ भदौमा गठित माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्री भए । दाहाल सरकार गिरेपछि एकातिर माओवादी र अर्कातिर कांग्रेस-एमालेतिर मधेशी दल तानातान हुँदा फोरम विजयकुमार गच्छदारको नेतृत्वमा बहुमत सभासदसहित विभाजित भयो गुप्ता भने उपेन्द्र यादव नेतृत्वकै संस्थापन पक्षमा बसे । केही महिनापछि उनी १३ सभासद लिएर फोरमबाट विभाजित भई फोरम गणतान्त्रिक पार्टी खोले । त्यही पार्टीको नेताका रुपमा उनी भदौ मा गठित माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारमा सूचना तथा साचारमन्त्री भए ।
सर्वोच्चमा आफ्नो मुद्दा फैसलाको नजिक पुगेपछि गुप्ताले आफ्नो बचाउका लागि धम्कीको भाषामा राज्य समग्र मधेसी जनताप्रति झन् बढी अनुदार हुँदै गएको भन्दै काठमाडौंसित मधेसको सम्बन्ध तोडिने चेतावनीसमेत दिएका थिए । उनको यो अभिव्यक्तिले मुलुकको राजनीति तात्तिइरहेका बेला सर्वोच्चको फैसला आएको हो ।

गुप्ता कहिले कुन पदमा ?
२०४८ सालमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार
२०५१ मा परराष्ट्र तथा मानव अधिकार समितिको सभापित
२०५७ माघमा कृषि तथा सहकारी मन्त्री
२०५८ साउनमा सूचना तथा साचार मन्त्री
२०६५ भदौमा कृषि तथा सहकारी मन्त्री
२०६८ भदौमा सूचना तथा साचार मन्त्री







No comments:

Post a Comment