Monday, February 20, 2012

कांग्रेसको मुक्ति सेनाले राणाविरुद्ध प्रयोग गरेको ट्यांक संग्रहालयमा

काठमाडौं, ८ फागुन- कांग्रेसको मुक्ति सेनाले आजभन्दा ठीक ६२ वर्ष अगाडि राणा शासकसँग सशस्त्र क्रान्ति गर्दा बुलेटप्रुफ ट्यांक र तोप प्रयोग गरेको थियोभन्दा पत्यार नलाग्न सक्छ । सुन्दरीजलस्थित वीपी संग्रहालयले राणाका सेनाविरुद्ध लडाइँमा प्रयोग भएको बुलेटप्रुफ ट्यांक ६२ औं प्रजातन्त्र दिवसको भोलिपल्ट सोमबार राजधानी ल्याइएपछि कांग्रेसको मुक्ति सेनाले संघर्षका क्रममा अत्याधुनिक हतियारसमेत प्रयोग गरेको पुष्टि हुन्छ । ट्रकमा हाली तीन दिन लगाएर ल्याइएको उक्त ट्यांंक सोमबारदेखि संग्रहालयमा प्रदर्शनीमा राखिएको छ ।
'०७ सालको क्रान्तिमा प्रयोग भएको यो ट्यांक अति नै ऐतिहासिक सामग्री हो । योबिना वीपी संग्रहालय अपूर्ण थियो । अब पूर्ण भयो' संग्रहालय विकास समितिका अध्यक्ष परशुराम पोखरेलले भने । उनका अनुसार कांग्रेसले सशस्त्र संघर्ष सुरु गरेपछि विराटनगर जुट मिल्स मुक्ति सेनाको कब्जामा थियो । मिल्सभित्र ठूलो वर्कसप त्यति बेला पनि थियो अहिले पनि छ । त्यही वर्कसपमा ठूलो ट्याक्टरलाई ६/७ दिन लगाएर मोडिफाई गरी बुलेटप्रुफ टयांक बनाएको हो । ट्यांकलाई शक्तिशाली बनाउन रबरका पांग्रा झिकेर वर्कसपमा नै बनाइएका चेन पांग्रा हालिएको थियो । मुक्ति सेनाले विराटनगरका बडाहाकिमको निवास ध्वस्त पार्न यो ट्यांक प्रयोग गर् यो ।
कांग्रेसको मुक्ति सेनाले विराटनगरस्थित बडाहाकिमको निवास कब्जा गर्ने पटकपटक प्रयास गर्दा पनि नसकेपछि बुलेटप्रुफ ट्यांक बनाएर प्रयोग गरेको को हो । मुक्ति सेनाले युद्धका क्रममा तोप हान्ने गरेको थियो भुइँमा राखेर हान्दा रेन्ज नमिलेर मुक्ति सेनालाई बडा हाकिमको निवास कब्जा गर्न अप्ठ्यारो परिरहेको थियो । त्यही कारण मुक्ति सेनाले ट्यांक बनाएको हो ।
वीपी कोइरालाले यो ऐतिहासिक प्रसंग आफ्नो आत्मवृत्तान्तमा समेत उल्लेख गरेका छन् । क्रान्तिको केन्द्र विराटनगर आसपास क्षेत्र कब्जा गरे पनि मुक्ति सेनाले बडाहाकिमको निवासमा केन्द्रित राणा फौजलाई परास्त गर्न सकेको थिएन । पूर्वी मोर्चाको कमान्डरसमेत रहेका नेता वीपी कोइरालाको आत्मवृत्तान्तको १३१ र १३२ पुष्ठमा 'ट्याक्टरलाई ट्यांक बनाएपछिमात्र बडाहाकिमको निवास कब्जामा आएको' उल्लेख गरेका छन् ।
मुक्ति सेना ट्याकको मद्दतले बडाहाकिम उत्तम विक्रम राणाको निवास बाहिरको पर्खाल तोडेर भित्र प्रवेश गरेको थियो । पर्खाल तोड्न लाग्दा भित्रबाट गोली वर्षंदा पनि ट्यांक बुलटेप्रुफ भएकाले चालकलाई केही भएन र निवास कब्जा गर्न सफल भए ।
ट्यांक भित्र छिरेपछि बडा हाकिम राणाले मुक्ति सेनासामु सेतो झन्डा फहराएर आत्समर्पण गरेका थिए । राणाले आत्मसमर्पण गरेपछि कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासहित मुक्ति सेना भित्र छिरे । कोइराला मुक्ति सेनामा पोलेटिकल कमिसारको जिम्मेवारीमा थिए । राणाले छलकपट गरेर मुक्ति सेनामाथि गोली बसा्रउन लागे । एक जना राई थरका मुक्ति सेनाले कोइरालालाई धकेलेर उनीमाथि हानिएको गोलीबाट बचाएका थिए । बडा हाकिमको कार्यालय कब्जा गर्ने मुक्ति सेनाको कमान्डर पी याक्थुम्बा थिए । आफ्ना नेतामाथि झुक्याएर गोली हानेको रीसमा उनले खुकुरीले बडा हाकिम राणालाई छप्काउन खोजेका थिए । राणाले फेरि आत्मसमर्पण गरेपछि वीपी कोइरालासहितका कांग्रेस नेताहरुले याक्थुम्बालाई रोकेर उनलाई बचाएका थिए ।
झाडी फाडेर मोरङ सुगर मिल्स कारखानाका लागि जग्गा तयार गर्न उक्त ट्याक्टर भारतबाट ल्याइएको थियो । त्यही ट्याक्टरलाई ट्यांक बनाइएको थियो । ट्याक्टर मोरङ सुगर मिल्सकै भएकाले क्रान्ति सकिएपछि त्यसबाट बनाइएको ट्यांक मिल्सकै परिसरमा खुला आकासमुनि ६२ वर्षसम्म अलपत्र छाडियो । ओतबिना नै राखिएकाले ट्यांकका चेन पांग्रा एक फिट गडिसकेका थिए भने त्यति ऐतिहासिक ट्यांक पानीले खिया परेको छ ।
क्रेन लगाएर ट्यांकर उठाई सुनसरीको अमरडुवाबाट १० पांग्रे ट्रकबाट संग्रहालयमा ल्याइएको हो । संग्रहालयका अध्यक्ष पोखरेलले विराटनगरमा ५ पटक गएर खोजी गरेपछि ट्यांकर भट्टाइएको जानकारी दिए । उनका अनुसार ट्यांकको तौल झन्डै १० टन रहेको र यसलाई राजधानी ल्याउँदासम्म २ लाख रुपैयाँको हाराहारीमा खर्च भएको छ ।

No comments:

Post a Comment