Sunday, February 5, 2012

प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई मासिक ५० प्रतिशत प्रोत्साहन भत्ता

काठमाडौं, २२ माघ- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई थप सुविधाबापत मासिक तलबको ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने भएको छ । सरकारले फागुन महिनादेखि नै उनीहरुलाई प्रोत्साहन भत्ता दिन लागेको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।
मुलुकको कार्यकारी प्रमुखको सचिवालयको कामकारबाहीलाई प्रभावकारी, चुस्त र छिटोछरितो बनाउन तथा कार्यालयलाई आकर्षक कार्यालय बनाउन कर्मचारीलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन लागिएको जानकारी एक उच्च अधिकारीले दिएका छन् ।
कर्मचारी वृत्तमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय 'अनाकर्षक कार्यालय' मानिन्छ । अरु कार्यालयमा भन्दा ५० प्रतिशत तलब बढी हुने भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय कर्मचारीका लागि आकर्षक हुने र कामको प्रभावकारितामा समेत वृद्धि हुने विश्वास ती अधिकारीको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यसचिव, चार सचिव, सात सहसचिवसहित करिब १ सय ७० जना कर्मचारी कार्यरत छन् । अर्थमन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई मासिक ५० प्रतिशत प्रोत्साहन भत्ता दिने प्रस्तावमा सहमति दिइसकेको छ । मन्त्रिपरिषदमा विचाराधीन उक्त प्रस्तावमा निर्णय हुनासाथ कर्मचारीले प्रोत्साहन भत्ता पाउन थाल्नेछन् ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीले प्रोत्साहन भत्ता कसले कति पाउने भनेर तय गर्न इन्डिकेटर बनाइएको जानकारी दिए । कार्यसम्पादन मूल्यांकनलाई ७०, अनुशासनलाई ५ र ओभरटाइम बसेकोलाई २५ प्रतिशत अंकभार दिई इन्डिकेटर बनाइएको छ । यही इन्डिकेटरका आधारमा प्रधानमन्त्री कार्यालयका कर्मचारीमध्ये कसले कति प्रोत्साहन भत्ता पाउने भनी तय गरिनेछ ।
सरकारले अर्थमन्त्रालयमातहतका भन्सार र राजस्व कार्यालयका कर्मचारीहरुलाई मासिक तलबको एक सय प्रतिशत प्रोत्साहन भत्ता िदंदै आएको छ । भन्सार र राजस्वपछाडि प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिन लागिएको हो ।

No comments:

Post a Comment