Wednesday, February 15, 2012

संवैधानिक परिषद बैठक बिहीबार

गुप्ताको सट्टा त्रिपाठी परिषदको सदस्य
काठमाडौं, ३ फागुन- प्रधानमन्त्री बाबुराम भट्टराईले चार संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिका बारेमा छलफल गर्न बिहीबार अपराह्न संवैधानिक परिषदको बैठक बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेले दाबी गरेकाले तीन वर्षभन्दा बढी समयदेखि संवैधानिक निकायहरुमा नियुक्ति हुन सकेको छैन ।
परिषदको बुधबार बस्ने बैठकमा मुख्यसचिव माधव घिमिरेले अन्तर्राष्ट्रिय अनुभवसमेत अध्ययन गरी संवैधानिक निकायमा उपयुक्त व्यक्ति नियुक्ति गर्ने लिखित आधार पेस गर्नेछन् । अघिल्लो बैठकले परिषदका सचिवसमेत रहेका घिमिरेलाई आधार तयार गर्ने जिम्मा दिएको थियो ।
प्रधानमन्त्री कार्यालयले चार संवैधानिक निकायमा रिक्त प्रमुख आयुक्त आयुक्त अध्यक्ष र सदस्य हुन योग्यता पुगेका प्रशासन प्राध्यापन वकालतसहित विभिन्न विधाका करिब २ सयभन्दा बढी इच्छुकबाट आवेदन लिई रोस्टर तयार गरेको छ । उनीहरुले कुन संवैधानिक निकायको कुन पदका लागि नियुक्त हुन खोजेको हो त्यस पदका लागि आ-आफ्नो अनुभव र नियुक्त भएपछि आफूले गर्ने कामको विवरणसहित प्रधानमन्त्री कार्यालयमा आवेदन दिएका हुन् ।
परिषदका एक सदस्यले प्रमुख तीन दलबीच अख्तियारको प्रमुख कसको सिफारिसमा कसलाई नियुक्त गर्ने भन्ने सवालमा सहमति नभइसकेकाले बिहीबारको बैठकबाट नियुक्तिको निर्णय हुने सम्भावना नरहेको बताए । अख्तियारमा माओवादीले रामकुमार श्रेष्ठ, कांग्रेसले बाबुराम आचार्य र एमालेले उदयनेपाली श्रेष्ठ वा माधव पौडेलको नाम अघि सारेका छन् । तीनै दल अख्तियार प्रमुख आफ्नो दलको सिफारिसमा हुनुपर्ने अडानमा छन् ।
यसैबीच प्रधानमन्त्री भट्टराईले भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीलाई परिषदको सदस्य तोकेका छन् । संवैधानिक निकायमा नियुक्तका लागि सिफारिस गर्ने परिषदमा अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन व्यक्ति हुन नहुने आवाज उठेपछि सूचना तथा साचारमन्त्री जयप्रकाश गुप्ताले परिषद सदस्यबाट राजिनामा दिएका थिए ।
प्रधानमन्त्रीले गुप्ताको सट्टामा मधेशी मोर्चाको सहमतिमा त्रिपाठीलाई परिषदको सदस्य तोकेका हुन् । परिषदमा प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री सदस्य हुने व्यवस्था छ । प्रधानमन्त्री अध्यक्ष हुने परिषदमा प्रधानन्यायाधीश सभामुख विपक्षी दलका नेता पदेन सदस्य हुन्छन् ।

No comments:

Post a Comment