Saturday, August 11, 2012

माथिल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

एडीबीले १५१, जाइकाले १८० ,युरोपीयन इन्भेस्टमेन्ट बैंकले ५० सहुलियतपूर्ण र परामर्शदाता कम्पनीको शेयर ४८ मिलियन डलर
आयोजनाको विद्युत् क्षमता १२७ बाट बढेर १४० मेगावाट

काठमाडौं, २७ साउन- एक सय ४० मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक लगानीको स्रोत जुटको जानकारी विद्युत् प्राधिकरणका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार एसियाली विकास बैंक एडीबी जापानी अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाइका र युरोपियन इन्भेस्टमेन्ट बैंकले अनुदान र सहयोग दिने प्रतिबद्धता व्यक्त गरेको र नपुग रकम हाल्न सरकार तयार भएपछि करिब ४० अर्ब लागत अनुमान भएको आयोजनाका लागि लगानीको स्रोत जुटेको हो ।
माथिल्लो सेती आयोजनाको नाम परिवर्तन गरी 'तनहुँ जलविद्युत् आयोजना' राखिएको छ । एडीबी र जाइकाबाट फ्याक्ट फाइन्डिङ मिसन छिट्टै आई आयोजनाको स्थलगत अध्ययन गर्ने र त्यसपछि सरकार र ती दातृ निकायबीच अनुदान र ऋण सहयोगसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको जानकारी प्राधिकरणका अधिकारीले दिए । जाइकाको मिसन आगामी सोमबार आउनेछ भने एडीबीको मिसन त्यसको लगत्तै आउनेछ ।
ती अधिकारीका अनुसार आयोजना निर्माणका लागि एडीबीले अनुदानमा ३८ र १ सय २३ मिलियन सहुलियतपूर्ण ऋण, जाइकाले १ सय ८० मिलियन र युरोपीयन इन्भेस्टमेन्ट बैंकले ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्नेछन् । उक्त आयोजनामा नेपाल सरकारले २ अर्ब रुपैयाँ तथा आयोजनाको परामर्शदाता कम्पनीको ४८ मिलियन अमेरिकी डलर लगानी रहनेछ । जाइकाले दशमलब १ प्रतिशत र एडीबी तथा युरोपियन बैंकले १ प्रतिशत सहुलियतपूर्ण ब्याजमा सरकारलाई ऋण दिनेछन् । सरकारले उक्त रकम आयोजनालाई ५ प्रतिशत ब्याजमा उपलब्ध गराउनेछ । सरकारले आयोजनाको लागत कम गर्न र बिजुली सस्तो बनाउन सरकारले यो आयोजनालाई ५ प्रतिशत ब्याजमा ऋण दिन लागेको हो । यसअघि सरकारले दातृ संस्थाको सहयोग आयोजनाहरुलाई आठ प्रतिशत ब्याजमा उपलब्ध गराउने गथ्र्यो ।
एडीबीसित आगामी डिसेम्बरसम्म ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ । एडीबीले आयोजनाका लागि १ सय ५१ मिलियन अमेरिकी डलर दिन रकम विनियोजन गरिसकेको छ । एडीबीपछि क्रमशः सरकारले जाइका र युरोपीयन इन्भेस्टमेन्टसित ऋण सम्झौता गरिनेछ ।
एडीबी र जाइकाको आग्रहमा सरकारले उक्त आयोजनामा परामर्शदाता कम्पनीको समेत लगानी रहने अवधारणामा आयोजना अघि बढाउन लागेको छ । लगानीसमेत हाल्ने प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्ट्यान्ट कम्पनीलाई परामर्शदाताको दायित्वमात्र नभई आयोजनाको निर्माण र साचालन ठेकेदारसित आइपर्ने कानुनी प्राविधिकलगायतका समस्या समाधान गर्न नेतृत्वदायी भूमिका गर्ने जिम्मेवारीसमेत दिइनेछ ।
प्राधिकरणको आयोजना निर्माण क्षमतामा प्रश्न उठेकाले परामर्शदाता कम्पनीलाई त्यस्तो जिम्मेवारी दिन लागिएको हो । परामर्शदाता कम्पनीका लागि टेन्डर आह्वान भइसकेको छ । परामर्शदाता कम्पनी छनौट भएपछि उससित वार्ता गरी आयोजनामा शेयर लगानी गर्न लगाइनेछ । आगामी डिसेम्बर महिनाभित्र कन्सल्ट्यान्ट कम्पनी छनौट भई आयोजना निर्माणस्थलमा आइसक्नेछ
कम्पनी बनाएर आयोजनाको निर्माण र साचालन गर्न तनहुँ हाइड्रो पावर लिमिटेड कम्पनी खडा गरिएको छ । कम्पनीको इक्विटीमा प्राधिकरणको ७४ र परामर्शदाता कम्पनीको २६ प्रतिशत शेयर रहनेछ । आयोजनाबाट विद्युत् उत्पादन भएको १० वर्षपछि परामर्शदाता कम्पनीलाई लाभांश दिएर उसको शेयर कम्पनीले खरिद गर्ने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए । एडीबीले दिने ३८ मिलियन अमेरिकी डलर प्राधिकरणले कम्पनीका इक्विटीमा राख्नेछ । चरम घाटामा रहेको प्राधिकरणसित इक्विटी हाल्ने रकमसमेत नभएकाले त्यसका लागि एडीबीसित अनुदान सहयोग लिन लागिएको हो ।
कम्पनीले आयोजना निर्माणका लागि ठेकेदार छनौटका लागि जनवरीमा टेन्डर आह्वान गर्ने भएको छ । ठेकेदार छनौट भएपछि उसले सुरुमा आयोजनाको डिजाइनको पुनर्मूल्यांकन गर्नेछ । आयोजनाको निर्माण कार्य २०१४ को मार्चमा सुरु हुने र २०२० को जनवरीमा सम्पन्न भई कमसर्ियल रुपमा विद्युत् उत्पादन सुरु हुने जानकारी आयोजना प्रमुख महेश आचार्यले जानकारी दिए ।
आयोजनाको विद्युत् उत्पादन क्षमता १ सय २७ बाट बढेर १ सय ४० मेगावाट पुगेको छ । पूर्वसम्भाव्यता अध्ययनले यो आयोजनाबाट १ सय २७ मेगावाट विद्युत् उत्पादन हुने देखाएको थियो । विस्तृत इन्जिनियरिङ अध्ययनबाट यो आयोजनाबाट १ सय ४० मेगावाट विद्युत् उत्पादन हुने तथ्य उजागर गरेको छ । विस्तृत अध्ययनको अन्तरिम प्रतिवेदन आइसकेको छ । अध्ययनअनुसार उक्त आयोजनाबाट मुलुकमा विद्युत् अभाव हुने याममा समेत दिनको कम्तीमा ६ घन्टा १ सय ४० मेगावाट विद्य्त उत्पादन हुनेछ ।
हिउँदयाममा कुल क्षमताको आधाभन्दा कम बिजुली उत्पादन गर्ने रन अफ रिभर ( बगेको पानी) बाट विद्युत् उत्पादन हुने आयोजनाहरु धेरै भएको मुलुकमा यो आयोजनाले विद्युत् प्रणालीमा सन्तुलन ल्याई हिउँदयाममा बिजुलीको संकट कम गर्न ठूलो मद्दत पुग्नेछ । यो कुलेखानीपछिको दोस्रो जलाशययुक्त आयोजना हुनेछ । वर्षायाममा समेत उक्त आयोजनाबाट अरु रन अफ रिभर आयोजनाबाट जस्तै विद्युत उत्पादन हुनेछ ।
यो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन अन्तिम चरणमा पुगेको छ । अध्ययनबाट आयोजनाको अन्तिम लागत कति लाग्ने हिसाब हुँदैछ । सकेसम्म आयोजनाको लागत घटाउने पहल भइरहेको छ । आयोजनाको हालको अनुमानित लागतअनुसार कम्पनीले प्राधिकरणसित ७ रुपैयाँ प्रतियुनिटमा विद्युत् खरिद सम्झौता गर्नुपर्ने हुन्छ । तर आयोजनाको लागत घटाएर प्राधिकरणलाई बेच्ने दरसमेत घटाउने प्रयास भइरहेको जानकारी आयोजना प्रमुख आचार्यले दिए । आगामी एक महिनामा विस्तृत अध्ययन कार्य सम्पन्न हुनेछ ।
कम्पनीले एकातिर आयोजना अघि बढाउन निर्माण लाइसेन्सका लागि ऊर्जा मन्त्रालयमा हालै निवेदन दिएको छ भने अर्कातिर प्राधिकरणसित पीपीए गर्न खाका तयार गरी वार्तासमेत थालेको छ । खाकामा पीपीए दर हरेक वर्ष तीन प्रतिशतका दरले बढ्ने प्रस्ताव गरिएको छ ।





No comments:

Post a Comment