Monday, August 20, 2012

मेट्रो रेल र तराईमा रेल्वे निर्माणमा दक्षिण कोरियाको सहयोग मागिने

भौतिक योजनामन्त्रीको नेतृत्वमा नेपाली टोली कोरिया प्रस्थान
काठमाडौं, ४ भदौ- सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल्वेको विकास र तराई-मधेसमा ब्रोडगेज रेल्वेलगायतको पूर्वाधार विकासका लागि मित्रराष्ट्र दक्षिण कोरियालाई सहयोग गर्न आग्रह गर्ने भएको छ । भौतिक योजना निर्माण तथा यातायातमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा चारदिने भ्रमणमा सोमबार दक्षिण कोरियाको सिउल प्रस्थान गरेको टोलीले आफ्ना समकक्षी र त्यहाँको रेल्वे कम्पनीका प्रमुखलगायतका अधिकारीसित नेपालका ठूला पूर्वाधार विकासमा सहुलियतपूर्ण ऋण सहयोग गर्न आग्रह गर्ने जानकारी सरकारी अधिकारीले दिए ।
चमेलिया जलविद्युत् आयोजनासहित विभिन्न विकास परियोजनामा सहुलियतपूर्ण ऋण सहयोग गरिरहेको दक्षिण कोरियाले काठमाडौं उपत्यकामा मेट्रो रेल्वे र तराई-मधेसमा ब्रोड गेज रेल्वे निर्माणमा चासो देखाइरहेकाले नेपाली टोली औपचारिक रुपमा आग्रह गर्न भ्रमणमा गएको जानकारी ती अधिकारीले दिए । महोत्तरीको बर्दियादेखि सिमरासम्म ब्रोडगेज रेल्वे निर्माणका लागि दक्षिण कोरियाकै कम्पनीको अगुवाइमा संयुक्त लगानीको परामर्शदाता कम्पनीले विस्तृत इन्जिनियरिङ अध्ययन अन्तिम चरणमा पुर् याएको छ भने काठमाडौं उपत्यकामा मेट्रो रेल विकास गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ ।
'भ्रमणका क्रममा हामीले दक्षिण कोरियाका निर्माण यातायात र जलसंशाधनमन्त्री र त्यहाँको रेल्वे कम्पनीको प्रमुखसितको भेटवार्तामा तराई-मधेसमा रेल्वे निर्माण र काठमाडौं उपत्यकामा मेट्रो रेलको विकास गर्नका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्न आग्रह गर्नेछौं' भ्रमणमा जानुअघि भौतिक योजनामन्त्री त्रिपाठीले भने । उनले आफ्नो नेतृत्वको भ्रमण टोली मुलुकको पूर्वाधार विकासमा दक्षिण कोरियाको आर्थिक तथा प्राविधिक सहयोग जुटाउने एजेन्डामा केन्द्रित हुने बताए ।
उनले द्विपक्षीय भेटमा नेपालले दक्षिण कोरियाली अधिकारीसत मुलुकमा ब्रोडगेज रेल्वे, मेट्रो रेल र टनेल निर्माणका लागि आवश्यक दक्ष जनशक्तिको अभाव भएकाले नेपाली अधिकारीलाई त्यससम्बन्धी अध्ययन र तालिम दिनसमेत आग्रह गरिने जानकारी दिए ।
रेल्वे मेट्रो रेल तथा टनेल निर्माणमा मुलुकमा दक्ष प्राविधिक कामदार उत्पादनका लागि कोरियामा जाने नेपाली प्रशिक्षार्थी श्रमिकलाई ती क्षेत्रमा काम दिनमसमेत आग्रह गरिने उल्लेख गर्दै फलस्वरुप कोरियाबाट फर्कने नेपाली मुलुकभित्र रेल्वे, मेट्रो रेल तथा टनेल निर्माणका लागि दक्ष कामदार बन्ने विश्वास व्यक्त गरे । 'हामीले नेपालबाट जाने कम्तीमा २/३ हजार नेपालीलाई रेल्वे मेट्रो रेल तथा टनेल निर्माणको काममा लगाउन अनुरोध गर्नेछौं ती नेपाली स्वदेशमा फर्किएपछि मुलुकमा रेल्वे, मेट्रो रेल तथा टनेल निर्माणका लागि दक्ष कामदार हुनेछन्' त्रिपाठीले भने ।
भ्रमण टोलीमा भौतिक योजनासचिव तुलसी सिटौला, निर्माण महाशाखा प्रमुख हरिओम श्रीवास्तव, रेल्वे विभागका महानिर्देशक रामकुमार लम्साल, कानुन शाखा र योजना शाखाका उपसचिवद्वय राजेन्द्र नेपाल र राजेश उप्रेती रहेका छन् । भ्रमण टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

No comments:

Post a Comment