Tuesday, August 28, 2012

प्रधानमन्त्रीको सम्बोधन विरोधाभासपूर्ण र झूटको पुलिन्दा : कांग्रेस-एमाले

काठमाडौं. १३ भदौ- प्रतिपक्षी दल कांग्रेस र एमालेका नेताहरुले सरकारको एकवर्षे कार्यकाल पूर्णरुपमा असफल र निराशाजनक रहेको उल्लेख गर्दै कांग्रेस नेता रामशरण महतले प्रधानमन्त्रीको वक्तव्यलाई 'हास्यास्पद विरोधाभाषपूर्ण र झूटको पुलिन्दा' भएको टिप्पणी गरेका छन् ।
'प्रधानमन्त्रीको दावी आधारहीन छन् र प्रतिपक्षँलाई झूटा आरोप लगाइएको छ' कांग्रेस नेता रामशरण महतले भने- 'प्रधानमन्त्रीले आफ्नो गल्तीलाई ढाकछोप गर्न र जनतामा हामीले केही गरेका छौं भन्ने भ्रम दिन लामो बक्तव्य दिनुभएको हो ।'
'संविधानसभाको अन्त्य उहाँले जानीजानी गर्नुभएको हो कांग्रेस-एमालेलाई दोष दिनुको औचित्य छैन' उनले भने- 'कांग्रेस सभापतिले अदालतको निर्णयविपरीत संविधानसभाको म्याद तीन महिना बढाउने प्रस्तावको विरोध गर्नुभएको हो । संविधान जारी गर्न विरोध गर्नुभएको थिएन ।'
जेठ १४ को मितिभित्र संविधान जारी हुने अवस्था रहे पनि सत्तापक्षका कारण सम्भव हुन नसकेको दाबी उनले गरे । 'नमिलेका कतिपय विषयलाई थाँती राखेर पनि संविधान जारी गर्न सकिन्थ्यो' महतले भने- 'उहाँहरुले नै एकलौटी सत्ता उपयोग गर्न संविधान जारी नगरी संविधानसभाको अवसान गराउनुभएको हो ।'
पूर्वअर्थमन्त्री महतले भट्टराई सरकारको वर्ष दिनमा इतिहासमै सबभन्दा बढी भ्रष्टाचार र अनियमितता भएको दाबी गरे । 'जलविद्युत आयोजनामा खुलेआम रकम माग्ने विमानस्थलमा मिलेमतोमा टेन्डर गर्नेजस्ता आर्थिक अपराध भइरहेका छन्' उनले भने- 'भ्रष्टाचारको नयाँ रुप उहाँको सरकारमा देख्न सकिन्छ ।'
खेतीको सिजनमा मलको हाकाकार हुँदा सरकार मुकदर्शक रहेको र उसको अकर्मण्यताकै कारण वर्षायाममा समेत लोडसेडिङ बढेको टिप्पणी उनले गरे । सरकारले राष्ट्रिय गौरवका रुपमा चर्चा गरिरहेका सबैजसो ठूला आयोजना चार वर्षअघि कांग्रेस नेतृत्वको सरकारका पालामा सुरु भएको महतको दाबी छ । 'यसमा सरकारले जस लिन खोज्नुको अर्थ छैन' उनले भने ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको दाबीलाई 'झुटको पुलिन्दा' को संज्ञा दिएका छन् । 'जेठ २ को सहमतिबाट एमाओवादी पछि नहटेको भए निर्धारित समयमा संविधान जारी हुन्थ्यो' उनले भने- 'एमाओवादीले जातीय आगोमा रोटी सेकाउन खोजेकाले सिर्जना भएको समस्याबाट अरुलाई दोषी देखाएर उम्कन सक्ने अवस्था छैन ।'
'मुलुक कसरी साचालन भइरहेको छ भनेर जनता स्वयंले महसुस गरेका छन्' ज्ञवालीले भने- 'आफ्ना कमजोरीलाई रत्तिभर महसुस नगरी दोष जति अरुको थाप्लामा खन्याएर प्रधानमन्त्रीले सुन्नेलाई पनि असहज हुने निराधार दाबी गर्नुभएको छ ।' सार्वजनिक क्षेत्रमा भएको हस्तक्षेप र अकर्मण्यताका घटनाले सुशासनको दाबीलाई गलत प्रमाणित गरेको उल्लेख गर्दै उनले किसानका लागि अत्याश्यक मलको हाहाकारले जनताका बीचमा केही गरेका छौ भन्ने दाबी खण्डित गरेको उदाहरण प्रस्तुत गरे । सरकारले लगानी वर्ष घोषणा गरेकै कार्यकालमा सबभन्दा बढी बाह्य लगानी घढेको उनले बताए ।

No comments:

Post a Comment