Wednesday, August 15, 2012

संसदका कर्मचारीद्वारा भदौ १ देखि पोसाक नलगाउने निर्णय

काठमाडौं, ३१ साउन- व्यवस्थापिका संसद सचिवालयका कर्मचारीहरुले भदौ १ गतेदेखि राष्ट्रिय पोसाक नलगाउने निर्णय गरेका छन् । सरकारले संसद सचिवालयका कर्मचारीहरुलाई मात्र यस आर्थिक वर्षको पोसाक भत्ता साउनभित्र नदिएका कारण उनीहरुले राष्ट्रिय पोसाक नलगाउने निर्णय गरेका हुन् ।
व्संसद सचिवालय कर्मचारी युनियनको बिहीबार बसेको बैठकले सचिवालयका कर्मचारीहरुलाई मात्र भेदभाव गरी सरकारले यस वर्षको पोसाकभत्ता साउन महिनामा नदिएकामा विरोध प्रकट गर्दे भदौ १ देखि राष्ट्रिय पोसाक नलगाउने निर्णय गरेको हो ।
'कत्ति कर्मचारी साथीको पोसाक फाटिसक्यो. कसैको पुरानो भइसक्यो । युनियनको बैठकले साउनभरिमा पोसाकभत्ता पैसा नआए हामीले भदौ १ देखि पोसाक लगाउन सक्तैनौं भनेर संसदको व्यवस्थापनलाई पत्र लेख्ने निर्णय गरेका छौं' युनियनका अध्यक्ष राजेशभाइ महर्जनले भने ।
सरकारले सरकारी कर्मचारीलाई दुई वर्षअघि अनिवार्य रुपमा राष्ट्रिय पोसाक लगाउनुपर्ने निर्णय गरी वर्षेनि ७ हजार ५ सय पोसाक भत्ता िदंदै आएको छ । सरकारले संसद सचिवालयबाहेक अरु सबै सरकारी कर्मचारीलाई गत चैतमा नै पोशाकभत्ता दिइसकेको छ तर सचिवालयका कर्मचारीहरुलाई भने दिएको छैन । सचिवालयका अधिकारीहरुले सरकारको परिपत्रअनुसार चैतमा मात्र पोसाकभत्ता दिन सकिने जानकारी गराएपछि कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।
सचिवालयका कर्मचारीहरुले अघिल्लो साउनमा एकपटकमात्र पोसाकभत्ता पाएका थिए । तर अरु सरकारी कर्मचारीले भने गत चैतमा दोस्रोपटक पोसाक भत्ता पाइसकेका छन् । सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सरकारले सबै सरकारी कर्मचारीलाई एकैपटक चैतमा मात्र पोसाकभत्ता दिने परिपत्र गरेकाले साउनमा दिन नसकिएको जानकारी दिए ।

No comments:

Post a Comment