Wednesday, August 8, 2012

कर्मचारीहरुद्वारा भदौ २२ सम्म समायोजन नभए आन्दोलनमा उत्रने चेतावनी

२४ (घ) १ बढुवा व्यवस्थापन केन्द्रीय तदर्थ समितिद्वारा मुख्यसचिवलाई ज्ञापन 
काठमाडौं, २४ साउन- कर्मचारीहरुले निजामती सेवा ऐनको २४ (घ) १ को व्यवस्थाअनुसार बढुवा भएका करिब १४ हजारभन्दा बढी कर्मचारीलाई तत्काल समायोजन गर्न माग गर्दै नगरिएमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
२४ (घ) १ बढुवा व्यवस्थापन केन्द्रीय तदर्थ समितिले मुख्यसचिव लीलामणि पौडेलमार्फत् बुधबार दिउँसो सरकारलाई ज्ञापनपत्र दिई निजामती सेवा ऐनअनुसार स्वतः बढुवा भएका कर्मचारीहरुलाई पदोन्नति भएकै पदको जिम्मेवारी दिन माग गर्दै नदिई आन्दोलन गर्ने चेतावनी दिउका हुन् ।
निजामती सेवा ऐनको २४ घ १ को व्यवस्थाअनुसार २०६४ सालदेखि बढुवा भएका कर्मचारीको संख्या हाल करिब १४ हजार पुगिसकेको छ । उनीहरु माथिल्लो पदमा बढुवा भए पनि तल्लै पदको काम गर्न बाध्य छन् ।
२४ (घ) १ बढुवा व्यवस्थापन केन्द्रीय तदर्थ समितिले भदौ २२ मा मनाइने निजामती सेवा दिवसअगावै स्वतः बढुवा भएका कर्मचारीहरुलाई पदोन्नति भएकै पदमा समायोजन र व्यवस्थापन गरी समस्या समाधान गर्न माग गरेका छन् ।
समितिले ज्ञापनपत्रमा समायोजनको समस्या समाधान भएन भने निजामती सेवा दिवसको कुनै अर्थ नहुने उल्लेख गर्दै भदौ २२ गतेअगावै समायोजन नगरिए कर्मचारीहरुले निजामती सेवा दिवस कार्यक्रम बहिष्कार धर्ना सरकारी कार्यालयमा तालाबन्दी गर्नेजस्ता आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
ज्ञापनपत्र बुझदै मुख्यसचिव पौडेलले २४ (घ) १ को व्यवस्थाअनुसार बढुवा भएका कर्मचारीहरुको समायोजन गर्न सरकारका तर्फबाट आफूले सक्दो पहल गर्ने आश्वासन दिएको जानकारी समितिका पदाधिकारीले दिए । 'समायोजनको समस्या समाधान गर्न म सकारात्मक छु मैले सरकारका तर्फबाट सक्दो पहल गर्छु' पौडेलको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने ।

No comments:

Post a Comment