Friday, August 17, 2012

मन्त्रिपरिषदद्वारा सचिवहरुको अपमानपूर्वक सरुवा

काठमाडौं, १ भदौ- सरकारले डेढ सातामा दोस्रोपटक सचिवहरुको हेरफेर गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले वरिष्ठ दुई जनासहित छ सचिवको हेरफेर गरेको जानकारी सूचना तथा साचारमन्त्री राजकिशोर यादवले दिए । मन्त्रिपरिषदको साउन २४ मा बसेको बैठकले ८ सचिवको सरुवा चार जनाको पदस्थापना र पाँच सहसचिवलाई कामु सचिवमा बढुवा गरेको थियो ।
सरकारले वरिष्ठ सचिवद्वय सहरी विकास मन्त्रालयका ताना गौतम र िसंचाइ मन्त्रालयकी वृन्दा हाडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेको छ । मन्त्रिपरिषदले अवकास पाउन दुई महिनाभन्दा कम समय रहेका बाँकी रहेका वरिष्ठ सचिवद्वय गौतम र हाडालाई निजामती सेवा ऐन तथा नियमावलीविपरीत सरुवा गरेको हो ।
अवकास पाउन एक वर्षभन्दा कम समय बाँकी रहेका कर्मचारीलाई सरुवा गर्न नपाइने र गर्नै परेमा सम्बन्धित राष्ट्रसेवकको सहमति अनिवार्य रुपमा लिनुपर्ने निजामती सेवा ऐन तथा नियमावलीको प्रावधानविरीत दुवै जनालाई अपमानपूर्वक प्रधानमन्त्री कार्यालयमा सारिएको हो । गौतम र हाडा सचिवको पाँचवर्षे पदावधि पूरा गरी आगामी असोज २३ मा अनिवार्य अवकास पाउँदैछन् ।
प्रधानमन्त्री कार्यालयमा प्रशासनतर्फका तीन सचिवको दरबन्दी भए पनि गौतम र हाडालाई लगेर चार जना पुर् याइएको छ । सचिवद्वय जयमुकुन्द खनाल र धरणीधर खतिवडा प्रधानमन्त्री कार्यालयमा हुँदाहुँदै गौतम र हाडालाई लगेर चार जना पुर् याइएको हो ।
सरुवा भएका सचिवमा प्रधानमन्त्री कार्यालयका माधव रेग्मीलाई राष्ट्रिय सतर्कता केन्द्रमा, शिक्षा मन्त्रालयका किशोर थापालाई सहरी विकास मन्त्रालयमा, सतर्कता केन्द्रका सुरेशमान श्रेष्ठलाई शिक्षा मन्त्रालयमा र महालेखा नियन्त्रण कार्यालयका प्रतापकुमार पाठकलाई िसंचाइ मन्त्रालयमा सारिएको छ । सहरी विकास तथा भवन विकासतर्फका प्राविधिक सचिव थापालाई आफ्नै अनुभव भएको सम्बन्धित सहरी विकास मन्त्रालयमा सरुवा गरिएको हो ।
रेग्मी डेढ सातामा दुईपटक सरुवा हुने सचिवमा परेका छन् । उनलाई मन्त्रिपरिषदको २४ गते बसेको बैठकले रक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयमा कुनै पनि सचिवलाई नपठाई रिक्त राखिएको छ ।
महासेनानीमा बानियाँको बढुवा
सरकारले नेपाली सेनानीका प्रमुख सेनानी सुरेशकुमार बानियाँलाई महासेनानीमा बढुवा गरेको छ ।
प्रधानमन्त्रीको इरान भ्रमण स्वीकृत
सरकारले प्रधानमन्त्री बाबुराम भट्टराईको तेहरान भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री आगामी अगस्ट ३० र ३१ मा इरानको तेहरानमा हुने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन जाँदैछन् । मन्त्रिपरिषदले प्रधानमन्त्रीको भ्रमण टोलीसमेत स्वीकृत गरेको छ ।

No comments:

Post a Comment