Tuesday, August 7, 2012

छ सचिवद्वारा मुख्यसचिव पौडेलले बोलाएको पहिलो बैठक बहिष्कार

काठमाडौं, २३ साउन- नवनियुक्त मुख्यसचिव लीलामणि पौडेलले सोमबार बोलाएको पहिलो सचिव बैठक वरिष्ठ छ जनाले सचिवले बहिष्कार गरेका छन् । पौडेलले सोमबार बिहान १० बजे मुख्यसचिवमा बहाली गरेपछि ११ बजे सचिव बैठक बोलाएका थिए ।
मुख्यसचिवको दाबेदार रहेका तर मन्त्रिपरिषदले पौडेललाई मुख्यसचिवमा बढुवा गरेपछि असन्तुष्ट भएका छ जना सचिवले बैठक बहिष्कार गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले दिए ।
बैठक बहिष्कार गर्ने सचिवहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भगवती काफ्ले, सहरी विकास मन्त्रालयका ताना गौतम, राष्ट्रपति कार्यालयका वामनप्रसाद न्यौपाने, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका बालानन्द पौडेल, िसंचाइ मन्त्रालयकी वृन्दा हाडा भट्टराई र उद्योग मन्त्रालयका उमाकान्त झा छन् ।
काफ्ले, गौतम, न्यौपाने र पौडेल आफूभन्दा कनिष्ठ पौडेललाई मुख्यसचिव बनाइएकामा असन्तुष्ट छन् भने मुख्यसचिवको दौडमा मरिमेटेर लागे पनि बढुवा हुन नसकेका हाडा र झा पनि आफ्नो असन्तुष्टि प्रकट गर्न बैठकमा अनुपस्थित रहेको स्रोतले उल्लेख गरेको छ । मुख्यसचिवको दाबेदार रहे पनि हाडा र भट्टराई पौडेलभन्दा कनिष्ठ हुन् ।
एकैपटक सचिवमा बढुवा भए पनि सहसचिव हुँदा काफ्ले गौतम न्यौपाने र बालानन्द पौडेल मुख्यसचिव पौडेलभन्दा वरिष्ठ थिए । मुख्यसचिव बढुवामा ज्येष्ठता मिचिएको रोष प्रकट गर्न उनीहरु बैठकमा अनुपस्थित भएका हुन् ।
उनीहरुका मन्त्रालय र निकायबाट निमित्त सचिवका रुपमा सहसचिव सचिव बैठकमा सहभागी भएका थिए । बैठकमा अनुपस्थित छ जना सोमबार कार्यालयमा भने उपस्थित थिए ।
निजामती सेवा ऐनको ज्येष्ठता र कार्यकुशलताका आधारमा बढुवा गर्ने व्यवस्थाविपरीत कनिष्ठ पौडेललाई मुख्यसचिव बनाइएकामा असन्तुष्टि व्यक्त गर्दै सचिवहरु शंकर कोइराला त्रिलोचन उप्रेती सुशीलजंग राणा अवनीन्द्र श्रेष्ठ र श्याम मैनालीले दिएको राजिनामा सरकारले स्वीकृत गरिसकेको छ । अरु असन्तुष्ट रहे पनि राजिनामा भने दिएका छैनन् ।
मुख्यसचिवले बोलाएको बैठक वरिष्ठ सचिवहरुले नै बहिष्कार गर्नु अनुशासनहीन र गैरजिम्मेवार कि्रयाकलाप भएको टिप्पणी एक सरकारी उच्च अधिकारीले गरेका छन् । 'पौडेललाई मुख्यसचिव स्वीकार्न नसकेको हो भने उनीहरुले राजिनामा दिएर सेवाबाट बिदा हुनुपथ्र्यो तर राजिनामा नदिई सचिवमा बसिरहने हो भने सरकारले बढुवा गरेका मुख्यसचिवले बोलाएको बैठकमा आउनु उनीहरुको न्यूनतम कर्तव्य हो बहिष्कार गर्नु उनीहरुको अनुशासनहीन र गैरजिम्मेवार कि्रयाकलाप हो । वरिष्ठ सचिवहरुले नै अनुशासित मर्यादित र व्यावसायिक निजामती संगठनमा यस्तो अराजक कि्रयाकलाप गर्न सुहाउँदैन' ती अधिकारीले भने ।
ती छ सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार भएको निवर्तमान मुख्यसचिव माधव घिमिरेको बिदाइ कार्यक्रममा समेत अनुपस्थित रहेका थिए । 'निवर्तमान मुख्यसचिवलाई बिदाइ गर्ने र नयाँलाई शुभेच्छा दिने कार्यक्रमसमेत बहिष्कार गरेर न्यूनतम शिष्टाचार पूरा नगर्ने ती छ सचिवबाट मुलुक के आशा गर्ने ?' एक प्रशासकले प्रश्न गरे ।
बैठकमा मुख्यसचिव पौडेलले निवर्तमान मुख्यसचिव माधव घिमिरेको पालामा सुरु भएका भ्रष्टाचार नियन्त्रण तथा सुशासन कार्ययोजनाको प्रभावकारी ढंगले कार्यान्वयन गर्न तथा सबै मन्त्रालय र मातहतका निकायबाट सेवाग्राहीलाई समयमै छिटोछरितो सेवा दिने व्यवस्था अनिवार्य रुपमा लागू गराउन सचिवलाई निर्देशन दिएका थिए । उनले कालाबजारियाका कारण बजार मूल्य अकासिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न र नियमित बजार अनुगमनको व्यवस्था गर्नसमेत सम्बन्धित सचिवहरुलाई निर्देशन दिएका थिए ।
पौडेलले आफूले कसैको पनि विगतका कि्रयाकलाप नहेर्ने अब आउने दिनमा विभिन्न मन्त्रालयका सचिव सहसचिव महानिर्देशक तथा मातहतका कर्मचारीहरुको कामकारबाहीको मूल्यांकन गर्ने राम्रो गर्नेलाई पुरस्कार र नराम्रा काम गर्नेलाई दण्ड दिने परिपाटी बसाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा बोल्दै सहभागी सबै सचिवले पौडेललाई मुख्यसचिव भएकामा बधाई िदंदै उनको कार्यकालको सफलताको कामनाका साथ उनलाई पूर्ण रुपमा सहयोग गर्ने वचनबद्धता प्रकट गरेका थिए । सचिव बैठकले मुख्यसचिव पौडेलको प्रस्तावमा हरेक महिनाको पहिलो आइतबार ९ बजे सचिव बैठक गर्ने निर्णय गरेको छ । यसअघि निश्चित दिन नतोकिएकाले सचिव बैठक नियमित रुपमा बस्न सकेको थिएन । सचिव बैठकलाई नियमित गर्न हरेक महिनाको पहिलो दिन बस्ने तय गरिएको हो ।
सचिव बैठकलाई पारदर्शी बनाउन तथा त्यसका छलफल र निर्णयलाई आमजनतासमक्ष पुर् याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव जयमुकुन्द खनाललाई प्रवक्ता तोकेको छ ।

No comments:

Post a Comment