Sunday, August 5, 2012

मुख्यसचिव घिमिरेको बिदाइ, पौडेलको बहाली आज

काठमाडौं, २१ साउन- मुख्यसचिव माधव घिमिरेले आइतबारदेखि सेवाबाट अवकास पाएका छन् । २०६६ साउन २२ मा निजामती प्रशासनको सर्वोच्च पदमा बढुवा भएका घिमिरेले मुख्यसचिवको तीनवर्षे पदावधि पूरा गरी आइतबार अवकास पाएका हुन् ।
विभिन्न मन्त्रालय र निकायका सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीहरुले आइतबार दिउँसो कार्यक्रम गरी घिमिरेलाई बिदाइ गरे । बिदाइ कार्यक्रममा बोल्दै घिमिरेले आफ्नो कार्यकालमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन कार्ययोजना कार्यान्वयनजस्ता थुप्रै राम्रा कामको सुरुआत भएको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबै सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीहरुप्रति आभार प्रकट गरेका थिए ।
कायममुकायम सचिव लीलामणि पौडेलले घिमिरेको पालामा सुरु भएका राम्रा कामलाई आफूले निरन्तरता दिने बताएका थिए । कार्यक्रममा सबै सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीहरु उपस्थित थिए ।
घिमिरे आफ्नो पदावधि सकिनु ठीक एक साताअघि जेठ १४ देखि बिदामा बसेका थिए । उनी बिदामा बसेपछि मन्त्रिपरिषदको साउन १४ मा बसेको बैठकले पौडेललाई साउन २२ गतेदेखि लागू मुख्यसचिवमा बढुवा गरेको थियो । मन्त्रिपरिषदले साउन २१ सम्म पौडेललाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।
मन्त्रिपरिषदको निर्णयअनुसार नवनियुक्त मुख्यसचिव पौडेलले सोमबार बिहान पद बहाली गर्ने भएका छन् । उनले पद बहालीपछि सोमबार नै सबै मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिने कार्यक्रम राखेका छन् । उनले सोमबार बिहान ११ बजे सचिव बैठक बोलाएका छन् ।

No comments:

Post a Comment