Tuesday, August 7, 2012

सरकारद्वारा आर्थिक संकटमा परेका विद्युत् आयोजनालाई राहत

काठमाडौं, २३ साउन- सरकारले निर्माण भइसकेका तर आर्थिक संकटमा परेका १३ वटा जलविद्युत् आयोजनालाई राहत दिन तिनबाट उत्पादित बिजुली पोस्टेड रेट (बढेको खरिद दर) मा खरिद गर्ने निर्णय गरेको छ । ती आयोजनाबाट २७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले निर्माण सम्पन्न भइसकेका ती आयोजनाबाट ऋण र ब्याज भुक्तानी अवधिसम्मका लागि विद्युत् प्राधिकरणले वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा बिजुली खरिद गर्ने निर्णय गरेको हो ।
प्राधिकरणले यसअघि ती आयोजनाबाट वर्षायाममा ४ र हिउँदमा ७ रुपैयाँ बिजुली खरिद गर्दै आएको थियो । सरकारले २०६८ पछि निर्माणमा जाने आयोजनाबाट पोस्टेड रेटमा बिजुली खरिद गर्ने निर्णय गरेको छ । सरकारले सशस्त्र द्वन्द्वकालमा निर्माण भएका र आर्थिक संकटमा परेका आयोजनाका प्रवद्र्धकहरुलाई राहत दिन तिनको बैंकबाट लिएको ऋण र ब्याज भुक्तानी अवधिसम्मका लागि पोस्टेड रेट दिने निर्णय गरेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।
ऋण र ब्याज भुक्तानी भइसकेपछि पनि सरकारले ती आयोजनाबाट पुरानै दर वर्षायाममा ४ र हिउँदमा ७ रुपैयाँ प्रतियुनिट विद्युत् खरिद गर्नेछ । सरकारको यो निर्णयबाट आर्थिक संकटमा परेका जलविद्युत् आयोजनाहरुलाई बैंकको ऋण तथा ब्याज भुक्तानी गर्न राहत पुगेको र त्यसबाट प्रवद्र्धकहरु थप लगानी गर्न उत्साहित भएको टिप्पणी प्रवद्र्धकहरुको छ ।
'सरकारको यो निर्णयबाट हामीलाई आयोजनाका निर्माणका क्रममा बैंकबाट लिएको ऋण र त्यसको ब्याज तिर्न राहत पुगेको छ । यसबाट द्वन्द्वकालमा खतरा र बन्दको समस्या बेहोर्दै आयोजना निर्माण गरेका लगानीकर्ताहरु उत्साहित भएका छन् । यसले ऊर्जा क्षेत्रमा थप लगानी गनृ आउने वातावरण बनेको छ' जलविद्युत्का प्रवद्र्धक उमेश कसजुले भने ।

No comments:

Post a Comment