Sunday, August 19, 2012

संघसंगठनद्वारा मापदण्ड मिचेर कर्मचारीको सरुवा भएकामा तीव्र विरोध

युनियनद्वारा मापदण्डविपरीतको सरुवा बदर गर्न मुख्यसचिवलाई ज्ञापनपत्र
काठमाडौं, ३ भदौ- कर्मचारी संघसंगठनहरुले सामान्य प्रशासन मन्त्रालयले ५ सय ३८ जना निजामती कर्मचारीको सरुवा गर्दा सरुवासम्बन्धी मापदण्डको व्यापक उल्लंघन गरेको आरोप लगाउँदै तीव्र विरोध जनाएका छन् । संघसंगठनहरुले आफूहरुसितको सहमतिमा बनाइएको सरुवासम्बन्धी मापदण्ड मिचेर सामान्य प्रशासनले साउन ३२ को मध्यरातमा कर्मचारीहरुको सरुवा गरेको भन्दै विरोध जनाएका हुन् ।
ती संघसंगठनले मुख्यसचिव लीलामणि पौडेल, सामान्य प्रशासन मन्त्रालयका सचिव दुर्गानिधि शर्मा, कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव किशोरजंग कार्कीलाई भेटी सरुवामा मापदण्ड उल्लंघन भएको प्रमाणसहित विरोध गरेको जानकारी कर्मचारी नेताहरुले दिएका छन् । एमाले निकट निजामती कर्मचारी संगठन र माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका पदाधिकारीले शनिबार र आइतबार मुख्यसचिव र सामान्य सचिवलाई भेटी सरुवामा मापदण्ड मिचिएको भन्दै विरोध जनाएका थिए । राष्ट्रिय कर्मचारी संगठनका पदाधिकारीले विरोध गर्ने क्रममा सामान्यका कर्मचारी प्रशासन महाशाखा प्रमुख कार्कीको टेबुलसमेत तोडफोड गरेका थिए ।
कांग्रेस निकट निजामती कर्मचारी युनियनले आइतबार मुख्यसचिव पौडेललाई ज्ञापनपत्र दिई मापदण्डविपरीत सरुवा गिरंदा कर्मचारी वृत्तमा असन्तुष्टि बढेको उल्लेख गर्दै अनियमित सरुवा बदर नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
युनियनले सरुवा गर्दा मापदण्ड पुगे पनि लोकतन्त्रवादी कर्मचारीहरुलाई विभेद गरिएको, दुई वर्षको अवधि नपुगेका डेढ दर्जनभन्दा बढीको सरुवा गरिएको, संघसंगठनका पदाधिकारीलाई नचलाउने सहमतिविपरीत सरुवा गरिएको, एउटा कमाउ अड्डाबाट अर्कोमा सारिएकोजस्ता थुप्रै अनियमित सरुवा भएको दाबी ज्ञापनपत्रमा गरेको छ । लामो समयदेखि दुर्गममा रहेर दुःख पाएका कर्मचारीहरुको सरुवा नभएको र १५ सय जनाले निवेदन दिएका भए पनि आफ्नो स्वार्थअनुकूलका र सत्तामा रहेका नेताको पहुँच र प्रभावका आधारमा ५ सय ३८ जनाको सरुवा गरिएको दाबी गर्दै युनियनले मापदण्डविपरीतको सरुवा बदर गर्न माग गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले साउन ३२ मा उपसचिव १२, उपसचिव (विशेष) १४, शाखा अधिकृत १३, शाखा अधिकृत (विशेष) ४५, नायव सुब्बा ५१, नायब सुब्बा (विशेष) १६६, टाइपिस्ट नासु र खरिदार १७, खरिदार १४०, श्रेणीविहीन सवारी चालक ११, श्रेणीविहीन कार्यालय सहयोगी २३, कम्युटर सहायक १४ जनालाई सरुवा गरेको छ । सामान्य प्रशासनले निजामती ऐन तथा नियमावलीबमोजिम वर्षको एकपटक साउनमा अवधि पुगेका कर्मचारीहरुको अन्तर मन्त्रालयमा सरुवा गर्ने गर्छ ।
निजामती कर्मचारी युनियनको सामान्य प्रशासन मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष नवराज जैसीले अवधि नपुगेको दर्जनौंको सरुवा भएको भेटिएको, लोकतन्त्रवादीलाई भेदभाव गरिएको, एउटा कमाउ अड्डा मालपोतबाट त्यस्तै यातायात कार्यालयमा सरुवा गरिएकोजस्ता मापदण्ड उल्लंघन भएको बताए ।
ज्ञापनपत्र बुझ्दै मुख्यसचिव पौडेलले सरुवामा मापदण्ड मिचिएको आफूले पनि सुनेको उल्लेख गर्दै मापदण्डविपरीतको सरुवाको छानबिन गरी बदर गर्न लगाउने र दोषी पाइए सम्बन्धित कर्मचारीमाथि कारबाही गर्ने आश्वासनसमेत दिएको जानकारी युनियनका जैसीले दिए ।

No comments:

Post a Comment