Sunday, August 12, 2012

निजामती कर्मचारीमा आधिकारिक ट्रेड युनियनको चुनाव हुने

कानुनका सहसचिव प्रमुख निर्वाचन अधिकृत तोकिए
काठमाडौं, २९ साउन- सरकारले निजामती प्रशासनमा रहेको कर्मचारी संगठनहरुको अराजकता अन्त्य गर्न आधिकारिक ट्रेड युनियनको चुनाव गर्ने भएको भएको छ । निजामती कर्मचारीको हकहितका नाममा सातवटै राष्ट्रियस्तरका संगठन आधिकारिक ट्रेड युनियन सरह समानान्तर रुपमा कार्यरत रहँदा प्रशासनमा उत्पन्न अराजकता र अनावश्यक हस्तक्षेप अन्त्य गर्नका लागि सरकारले आधिकारिक ट्रेड युनियनको चुनाव गराउन लागेको जानकारी सरकारी अधिकारीले दिए ।
ती अधिकारीअनुसार कानुनअनुसार निर्वाचित पदाधिकारीसितमात्र कर्मचारीको हकहित र तलबसुविधा सरुवा वृत्ति विकासका सवालमा वार्ता गर्न सजिलो होस भनेर आधिकारिक ट्रेड युनियनको चुनाव गर्ने तयारी गरिएको जानकारी ती अधिकारीले दिए ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव गर्न सरकारले कानुन मन्त्रालयका सहसचिव ऋषि राजभण्डारीलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ । कानुन मन्त्रीको हैसियतले प्रधानमन्त्री बाबुराम भट्टराईले आधिकारिक ट्रेड युनियनको चुनाव गर्न राजभण्डारीलाई प्रमुख निर्वाचन अधिकृत तोक्नुका साथै त्यसका लागि अरु ३० जना कर्मचारी खटाउने निर्णय गरेको जानकारी कानुन मन्त्रालयका अधिकारीले दिए । सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यालय राख्ने ठाउँको खोजी गरिरहेको छ । सरकारले निर्वाचनका लागि २ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
श्रम मन्त्रालयले निजामती सेवा नियमावलीको व्यवस्थाबमोजिम आधिकारिक ट्रेड युनियनको चुनाव गराउन निर्वाचन कार्यविधि तयार गरेको छ । आधिकारिक ट्रेड युनियनमा सबै कर्मचारी संगठनको प्रतिनिधित्व होस् भनेर समानुपातिक प्रतिनिधित्व रहने गरी कार्यविधि तयार गरिएको जानकारी श्रम मन्त्रालयका अधिकारीले दिए ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव ७५ जिल्ला र केन्द्रमा गर्ने व्यवस्था गरिएको छ । कार्यविधिअनुसार आधिकारिक ट्रेड युनियनमा सबभन्दा बढी मत ल्याउने संगठनले अध्यक्ष दोस्रोले उपाध्यक्ष तेस्रोले सचिव गरी सबै युनियनहरुको प्राप्त मतका आधारमा समानुपातिक प्रतिनिधित्व रहनेछ । आधिकारिक ट्रेड युनियन चुनाव भएपछि निर्वाचित पदाधिकारीबाहेक सातवटा राष्ट्रियस्तरका कर्मचारी संगठनले कर्मचारीका सवालमा छुट्टै कुनै गतिविधि गर्न नपाउने व्यवस्था कार्यविधिमा गरिएको जानकारी श्रम मन्त्रालयका अधिकारीले दिए ।

No comments:

Post a Comment