Saturday, May 9, 2020

लकडाउनकै क्रममा जग्गा बाँड्न लगत संकलन सुरु

काठमाडौं, २७ वैशाख– भूमिसम्बन्धी समस्या समाधान आयोगले लकडाउनकै क्रममा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न देशभरबाट विवरण संकलन प्रक्रिया सुरु गरेको छ ।
आयोगले लकडाउनका बीच कोरोना संक्रमण नियन्त्रण रोकथाम तथा प्रभावितहरूलाई राहत वितरणजस्ता अत्यावश्यक काममा मात्र क्रियाशील ७ सय ५३ वटै स्थानीय तहलाई जति सक्दो छिटो विवरण संकलन गरी पठाउन सर्कुलर गरेको छ । 
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरूलाई पत्र लेखी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भए वास्तविक नभए अनुमानित विवरण पठाउन भनेको छ ।

सबै स्थानीय तहबाट विवरण आएपछि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न सुरु हुने जानकारी आयोग स्रोतले दिएको छ । 

पत्रमा स्थानीय तहहरूलाई आफ्नो पालिकाभित्र रहेका कुल जनसंख्या, त्यसमा सुकुम्बासी दलितसहित सबै भूमिहीन तथा अव्यवस्थित परिवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । पत्रमा सरकारी, सार्वजनिक र वनको जग्गामा बस्दै आएका परिवारलाई अव्यवस्थित बसोबासीको परिभाषामा समेटिएको छ ।
आयोगले योजना बनाई आफ्नो काम जतिसक्दो सुरु गर्न सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरण गर्न स्थानीय तहसित विवरण मागेको हो ।
सरकारले लकडाउनकै क्रममा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न नेकपाका नेता देवी ज्ञवालीको अध्यक्षतमा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको हो । 
आयोगमा जगत् देउवा, भीमबहादुर कार्की, दिनेशचन्द्र यादव र मञ्जली शाक्य सदस्य र नापी विभागका उपमहानिर्देशक अमिरप्रसाद न्यौपाने सदस्यसचिव छन् । आयोगमा सदस्य रहने सात प्रदेशबाट एक÷एक जना प्रतिनिधि तोकिन बाँकी छ । 
मुलुकमा १४ देखि १६ लाख परिवार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अनुमान छ । सरकारले तिनैलाई एकपटकका लागि घरघडेरी र जीविकाका लागि जग्गा दिन आयोग गठन गरेको हो ।

No comments:

Post a Comment