Wednesday, May 27, 2020

रुकुम घटना जातीय विभेदको पराकाष्ठा : मानव अधिकार आयोग

दोषी सबैलाई कानुनी कारबाहीको दायरा ल्याउन निर्देशन
काठमाडौं, १४ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर जेठ १० मा रुकुम पश्चिममा भएको अमानवीय घटनालाई जातीय विभेदको पराकाष्ठाको संज्ञा दिएको छ ।
आयोगले बुधबार विज्ञप्ति जारी गरी यस्तो अमानवीय र आपराधिक घटनाको सुक्ष्म र निष्पक्ष छानबिन तथा अनुसन्धान गरी दोषी सबैलाई कानुनी दायरामा ल्याई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अरू ३ जनाको स्थिति अज्ञात रहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनामा मारिएका व्यक्तिको परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्ति दिन तथा बेपत्ताको खोजी गर्नसमेत सरकारलाई आग्रह गरेको छ । 

आयोगले विज्ञप्तिमा उक्त घटना समाजमा जातीय विभेदलाई निर्मूल पार्न संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक, समानताको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा सामाजिक छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन तथा सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिविपरीत रहेको जनाएको छ ।
आयोगले विज्ञप्तिमा जातीय विभेदको विषयमा शून्य सहनशीलता कायम गर्नसमेत सरकारलाई सचेत गराएको छ । विज्ञप्तिमा घटनाका सम्बन्धमा आयोगले समेत प्रभावकारी अनुसन्धानको काम अगाडि बढाइरहेकोसमेत उल्लेख छ ।
आयोगले मुलुकका विभिन्न जिल्लामा विगत केही समययता बढ्दै गएको जातीय विभेदको घटनाप्रति शून्य सहनशीलता कायम गरी सबै घटनाको सुक्ष्म र निष्पक्ष अनुसन्धान गरी शीघ्र कानुनी कारवाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

No comments:

Post a Comment