Tuesday, May 12, 2020

नेपाली भूमि अतिक्रमणप्रति सरकार गम्भीर छ, समस्या समाधान गर्न तत्काल कूटनीतिक पहल हुन्छ : प्रधानमन्त्री

महामारीलाई नियन्त्रण बाहिर जान नदिन लकडाउनलाई प्रभावकारी बनाउन निर्देशन 
काठमाडौं, ३० वैशाख– प्रधानमन्त्री केपी ओलीले नेपाली भूमि लिपुलेक र कालापानी अतिक्रमण गरी भारतले एकतर्फीरूपमा चीन जोड्ने सडक बनाएकोप्रति सरकार गम्भीर रहेको बताएका छन् ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा उनले नेपाल–भारत सीमा विवाद कूटनीतिक तबरबाटै हल हुने उल्लेख गर्दै त्यसका लागि प्रक्रिया अगाडि बढाइएको बताएको जानकारी एक मन्त्रीले दिएका छन् ।
‘द्विपक्षीय कूटनीतिक वार्ता र सहमतिको माध्यमबाटै सीमा विवाद हल गर्नुपर्छ । त्यसका लागि वार्ता गर्न पहल भइरहेको छ’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने ।

ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले कूटनीतिक वार्ताबाहेक सिमा विवाद समाधान गर्ने अर्को विकल्प नरहेको उल्लेख गर्दै सबै मन्त्रीलाई त्यसबारेमा जभाभावी सार्वजनिक अभिव्यक्ति नदिन र जिम्मेवार बन्न निर्देशन दिएका छन् । 

उनले सीमा विवादबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेकामा असन्तुष्टिसमेत प्रकट गरेका थिए । प्रधानमन्त्री ओलीले सीमामा भारतले बलमिच्याइँ गरिरहेको भए पनि त्यसको समाधान सडकमा उफ्रेर र चर्का कुरा गरेर नहुने बताए ।
प्रधानमन्त्री ओलीले लिपुलेक र कालापानी हुँदै भारतले चीन जोड्ने सडक बनाइरहेकाबारेमा आफूलाई पूर्व जानकारी नभएको र उद्घाटन भएपछिमात्र आफूले थाहा पाएको बताए 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने आइतबार प्रतिनिधिसभा बैठकमा भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेकाबारेमा सरकारलाई पहिल्यैदेखि जानकारी थियो भन्ने दाबी गरेका थियो ।
‘लिपुलेक र कालापानीमा भारतले सडक खन्दैछ भन्ने मलाई कुनै जानकारी थिएन । सीडीओले रिर्पो्टिङ गरेका थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेका थिएनन्’ ओलीको भनाइ थियो ।
उनले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो भन्ने सरकारको प्रस्ट अडान रहको उल्लेख गर्दै त्यसैअनुरूप वार्ता गरी उक्त क्षेत्र फर्काउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले सीमा विवाद टुंग्याउनका लागि सरकारले पटकपटक पहल गर्दै आए पनि भारतको नियत ठीक नभएकाले समस्या समाधान हुन नसकेको बताए ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएकाबारेमा ईपीजीका तत्कालीन भारतीय पक्षका सदस्य भगतसिंह कोसियारी (हाल महाराष्ट्रका गभर्नर) सित वार्ता गरेको, तर सकारात्मक उत्तर नआएकोसमेत जानकारी गराए ।  
‘भारतका लागि नेपाली राजदूतले हिजो भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो । कोसियारीले नमिल्ने कुराकानी गर्नु भएछ’ प्रधानमन्त्रीको भनाइ थियो ।
मन्त्रिपरिषद बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि लिपुलेक र कालापानी हुँदै भारतले चीनको मानसरोवर जाने सडक बनाएकोबारेमा ब्रिफिङ गरेका थिए । उनले भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर लिखित पत्र दिई नेपाली भूमि अतिक्रमणको विरोध प्रकट गरिसकिएको उल्लेख गर्दै समस्या समाधानका लागि भारतसित तत्काल वार्ता गर्ने  प्रयास भइरहेको जानकारी गराएका थिए ।
काठमाडौंमा खोइ लकडाउन ः प्रधानमन्त्री 
प्रधानमन्त्री ओलीले राजधानी काठमाडौंसहित देशभर आइतबारदेखि मान्छे र गाडीको चहलपहल बढेकामा असन्तुष्टि प्रकट गर्दै लकडाउनलाई कडाइका साथ लागू गर्न उच्चस्तरीय समन्वय समिति र गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । स्थिति भयावह हुन नदिन लकडाउनलाई कडा बनाउनु पर्ने भनाइ प्रधानमन्त्रीको थियो ।
उनले सरकारी कार्यालय तथा बैंक र वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको टिप्पणी गरेका थिए । उनले 
‘काठमाडौंमा लकडाउन कहाँ छ ?’ भन्ने प्रश्न गर्दै उनले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो नहुने उल्लेख गर्दै लकडाउनको पालना गराउने कुरामा कुनै कमीकमजोरी हुन नहुने बताए ।
‘आर्थिक गतिविधि र व्यवसाय सिद्धिने भयो भन्ने नाममा लकडाउन खुकुलो पारिएपछि कुनै अर्थ हुन्न । जीवन रहे अर्थतन्त्र पनि जोगिएला । सुनको बाक्सामा मान्छे राखेर के गर्नु, मरेपछि त सक्किगो नि’ उनले भने ।
उनले मुलुकमा पछिल्ला दिनमा कोरोना संक्रमण बढ्न थालेको उल्लेख गर्दै महामारीलाई नियन्त्रण बाहिर जान दिन लकडाउन पालना गर्न र गराउन कुनै खेलाँची गर्न नहुने बताए ।
उनले बैंक तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन हुन पुगेको बताए । उनले लकडाउनलाई प्रभावकारी बनाउनका लागि कडा कदम चाल्न निर्देशन दिए ।
भारतबाट आउनेहरूबाट नेपालमा कोरोना संक्रमण बढिरहेको उल्लेख गर्दै स्थिति भयावह हुन सक्ने चिन्ता पनि प्रधानमन्त्रीको थियो ।






No comments:

Post a Comment