Saturday, May 23, 2020

नक्सासँगै के के परिवर्तन हुन्छन् ?

काठमाडौं, ९ जेठ– सरकारको प्रस्तावमा संघीय संसदले संविधानको अनुसूची–३ मा रहेको निशान छापसम्बन्धी व्यवस्था संशोधन गरेपछिमात्र नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा औपचारिक रूपमा प्रचलनमा आउने जानकारी सरकारी अधिकारीले दिएका छन् ।
निशान छापमा नेपालको पुरानो नक्सा अंकित छ । त्यही कारण संविधानमा रहेको निशान छाप संशोधन गरी त्यसमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसमेत समेटिएको नेपालको नयाँ नक्सा राखिने जानकारी ती अधिकारीले दिएका छन् ।

मन्त्रिपरिषद शुक्रबार बसेको बैठकपछि संविधानको अनुसूची ३ संशोधन गर्न संसदमा स्ंशोधन प्रस्ताव पेस गरिएको छ । संघीय संसदका दुवै सभाको दुई तिहाइ बहुमतबाट संशोधन प्रस्ताव पारित गरी त्यसलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अनुसूची–३ को निशान छापमा नेपालको पुरानो नक्साका ठाउँमा नयाँ राखिनेछ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेको थियो । भूमि व्यवस्था मन्त्रालयले बुधबार नयाँ नक्सासमेत सार्वजनिक गरिसकेको छ । सरकारले नयाँ नक्सासँगै भारतीय कब्जामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन भारतसित कूटनीतिक पहल सुरु गर्दैछ ।
संविधानको अनुसूची ३ संशोधनपछि नेपालको नक्सा औपचारिक रूपमा प्रचलनमा आउने जानकारी सरकारी अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार नयाँ नक्सासँगै प्रचलनमा रहेका धेरै कुरामा परिवर्तन गर्नुपर्ने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार सबभन्दा पहिले निशान छाप भएका सबै संवैधानिक अंगसहित राज्यका सबै निकाय र मातहत कार्यालयका लेटरप्याड परिवर्तन गर्नु पर्ने जानकारी हुन्छ ।
‘राज्यका जुन जुन निकाय र कार्यालयका लेटरप्याडमा निशान छाप छन्, ती सबै परिवर्तन गरी नयाँ निशान छाप भएका लेटरप्याड प्रयोग गर्नु पर्छ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका पूर्वसचिव शरदचन्दं पौडेलले भने ।
उनका अनुसार सरकारी छाप र लोगोसमेत परिवर्तन गर्नु पर्ने छ । किनकि तिनमा समेत निशान छाप अंकित छन् । संविधान संशोधन ुहनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबै मन्त्रालयलाई नयाँ लेटरप्याड प्रयोग गर्न सर्कुलर जारी गर्ने जानकारी स्रोतले दिएका छन् । सबै मन्त्रालयले तत्कालै आ–आफ्ना मातहतका सबै निकाय, कार्यालय, संस्थान, विकास समितिलगायतलाई लेटरप्याड, लोगो र छाप परिवर्तन गर्न सर्कुलर जारी गर्ने छन् ।
पररराष्ट्र मन्त्रालयमार्फत संयुक्त राष्ट्रसंघस्थित नेपालको स्थायी नियोग, विदेशी मुलुकस्थित नेपाली दुतावास, महावाणिज्य दुतावास र अवैतनिक दुतावास नेपालको नयाँ नक्सा र नयाँ निशान छाप प्रयोग गर्न लगाइने छ । ती कूटनीतिक नियोगले विश्वभर नेपालको नयाँ नक्सालाई मान्यता दिई प्रचलनमा ल्याउनसमेत पहल गर्ने छन् ।
संविधान संशोधनसँगै संघीय संसद र प्रदेश सभा सदस्यको लोगो, निजामती कर्मचारीको लोगोसमेत परिवर्तन गर्नु पर्ने छ । ती सबैमा नेपालको नक्सा अंकित निशान छाप प्रयोग गरिएकाले परिवर्तन गर्नु पर्ने जानकारी ती अधिकारीले दिए ।
प्रधानमन्त्री कार्यालयले प्रदेशसभा र प्रदेश सरकार, संवैधानिक परिषदको सचिवालयले सबै संवैधानिक निकाय र संघीय मामिला मन्त्रालयले स्थानीय तहलाई नयाँ निशान छाप अंकित लेटरप्याड र लोगो प्रयोग गर्न सर्कुलर गर्नेछन् । राजपत्र, सरकारी सूचनासहित सबै सरकारी प्रकाशनमा अंकित हुने निशान छाप र लोगोसमेत परिवर्तन गर्नु पर्ने जानकारी ती अधिकारीले दिएका छन् ।
पूर्वसचिव पौडेल सरकारी निकायमात्र होइन नेपालको नक्सा प्रयोग गर्ने निजी तथा नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसकारी संघसंस्थाहरू सबैलाई नयाँ नक्सा प्रचलनमा ल्याउनु पर्ने बताउँछन् । सरोकारवाला मन्त्रालय या निकायले ती निजी तथा गैरसरकारी संघसंस्थालाई नयाँ नक्शा प्रचलनमा ल्याउन निर्देशन दिन सक्ने पौडेल बताउँछन् ।
अब सम्पूर्ण सरकारी दस्तावेज, कागजात तथा नेपालका विद्यालय र विश्वविद्यालयमा पठनपाठन गराइने पाठ्यपुस्तकमा समेत पुरानो नक्साका ठाउँमा नयाँ राख्न लगाउनु पर्ने धारणा सरकारी अधिकारीको छ । त्यसका लागि सरकारी दस्ताबेज र पाठ्यपुस्तक परिमार्जन गर्न लगाउन सकिने छ ।
छापिइसकेर विद्यार्थीको हातहातमा पुगिसकेका पाठ्यपुस्तक र सहयोगी सामग्रीमा रहेका नेपालको नक्सा तत्काल परिवर्तन गर्न नसकिए पनि सर्कुृलर जारी गरी नयाँ नक्साका आधारमा पठनपाठन गर्न लगाउन सकिने सरकारी अधिकारी बताउँछन् ।
बजारमा बिक्रीवितरणमा रहेका र छापिने क्रममा रहेका पुस्तकमा समेत नेपालको नक्सा परिवर्तन गर्न लगाउनु पर्ने धारणा ती अधिकारीको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल पनि कति हो त्यो पनि पाठ्यपुस्तकमा उल्लेख गर्नुपर्नेछ । हाल नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमि पढाइदै आएको छ ।
विभिन्न क्षेत्रमा रहेर मुलुकलाई महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई वर्षेनि राष्ट्राध्यक्षबाट प्रदान गरिने मानपद्बी र तक्मासमेत परिवर्तन गर्नु पर्नेछ । तिनमा पनि निशान छाप हुन्छ । राष्ट्रबैंकले प्रचलनमा ल्याउने कतिपय सिक्कामा समेत नेपालको नक्सा र निशाप छाप हुने भएकाले तिनलाई समेत परिवर्तन गर्नु पर्ने जानकारी सरकारी अधिकारीले दिए ।
ती अधिकारीका अनुसार नेपाली बजारमा बिक्री हुने नेपालको नक्सा, टुरिस्ट गाइड बुक, विश्वको मानचित्र (ग्लोब) समेत सच्याउन लगाउनु पर्ने छ । पररराष्ट्र मन्त्रालयको पहलमा नेपालको नयाँ नक्सालाई विश्वव्यापी मान्यता नपाएसम्म नेपालमा बिक्री हुने ग्लोवमा भने पनि नेपालको नयाँ नक्सा राख्न लगाउन सकिने छ ।
भूमि व्यवस्था मन्त्रालयका सचिव सचिव केदार न्यौपानेले संविधान संशोधन हुनासाथ सबै मन्त्रालयले आ–आफ्नो मातहतका निकाय र कार्यालयलाई मात्र नभई सरोकारवाला निजी क्षेत्र तथा गैरसरकारी संघसंस्थालाई समेत नयाँ नक्सा प्रचलनमा ल्याउने दायित्व पूरा गर्ने जानकारी दिए ।
उनले सबै पाठ्यसामग्री र पुस्तकमा शिक्षा मन्त्रालयले र बजारमा प्रयोग हुने नेपालको नक्सा र ग्लोबमा नयाँ नक्सा प्रचलनमा ल्याउन नापी विभागले पहल गर्नु पर्ने बताए । ‘सबै मन्त्रालयले प्रत्यक्ष या अप्रत्क्ष रूपमा आफ्नो मातहत र सरोकारमा रहने सबै निजी तथा गैरसरकारी संघसंस्थालाई नयाँ नक्सा, निशान छाप प्रचलनमा ल्याउन लगाउने छन्’ उनले भने ।
नक्सासँगै हुने परिवर्तन
संविधानमा रहेको नेपालको निशान छाप
निशान छाप अंकित राज्यका सबै निकायका लेटरप्याड
निशान छाप अंकित सबै सरकारी दस्तावेज
सबै सरकारी निकायका छाप
संघीय सांसदको लोगो
प्रदेशसभा सदस्यको लोगो
निजामती कर्मचारीको लोगो
मानपद्वी, तक्मा, सिक्का
पाठ्यसामग्री, राजपत्र, कानुन किताबसहित सबै सरकारी प्रकाशन
पुस्तक, सामान्य ज्ञान
नेपालको क्षेत्रफल जनित सामग्री
बिक्रीमा रहेका नेपालको नक्शा, टुरिस्ट गाइड बुक
नेपाली बजारमा बिक्री हुने विश्व मानचित्र (ग्लोव)

No comments:

Post a Comment