Wednesday, May 27, 2020

यस वर्ष गणतन्त्र दिवस दिपावलीमात्रै गरेर मनाइने

प्रधानमन्त्रीले बिहीबार बिहान देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौं, १४ जेठ– सरकारले कोरोनाको प्रकोप र लकडाउनका कारण यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने निर्णय गरेको छ । 
सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा तीन दिन दीपावलीमात्रै गरेर गणतन्त्र दिवस मनाउने भएको छ । गणतन्त्र दिवसका दिन बिहीबार बिहान ९ बजे प्रधानमन्त्री केपी ओलीले सञ्चार माध्यमबाट शुभकामनासहित देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रममात्र रहेको जानकारी गृह मन्त्रालयले दिएको छ ।


अघिल्ला वर्षमा सरकारले राष्ट्रपतिको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा भव्य समारोह गरी गणतन्त्र दिवस मनाउने गथ्र्यो । प्रदेश राजधानी,  जिल्ला सदरमुकाम र सबै स्थानीय तह र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूमा समेत भव्य उत्सव र कार्यक्रम गरी तामझामका साथ गणतन्त्र दिवस मनाइन्थ्यो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले कोरोनाको प्रकोपका कारण सार्वजनिक समारोह र भीडभाड हुने कार्यक्रम नगर्ने नीतिअनुरूप सरकारले गणतन्त्र दिवस दीपावलीमात्रै गरेर मनाउने निर्णय गरेको जानकारी दिए । 
सरकारले यस वर्ष संघ, प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूलाई तीन दिन दीपावली गरी गणतन्त्र दिवस मनाउन सर्कुलर जारी गरेको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले सबै नेपाली नागरिकलाई बुधबार, बिहीबार र शुक्रबार तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ ।

No comments:

Post a Comment