Tuesday, May 12, 2020

सिमामा असुरक्षित अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गर : मानव अधिकार आयोग

काठमाडौं, ३० वैशाख– राष्ट्रिय मानव अधिकार आयोगले लामो समयदेखि भारतीय सिमा नाकामा अलपत्र र असुरक्षित अवस्थामा रहेका हजारौं नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी देशव्यापी अनुगमनका क्रममा सीमा क्षेत्रमा नेपाली नागरिकहरू ६ सातादेखि असुरक्षित अवस्थामा रहिरहेको र संविधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हकको हनन भइरहेकामा चिन्ता व्यक्त गरेको छ ।

आयोगले सर्वोच्च अदालतको आदेशबमोजिम सीमा नाकामा अलपत्र नेपालीहरूको तत्काल उद्धार गरी डब्लूएचओको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्न र सबैको स्वास्थ्य परिक्षण गर्न निर्देशन दिएको हो ।

आयोगले लकडाउनसँगै भारतमा रोजगारी र गाँसबासको समस्या भई स्वदेश फर्कने क्रममा सीमा नाकामा आई क्वारेन्टाइनमा बसिसकेकाहरूसमेत अलपत्र परिरहेको उल्लेख गर्दै नेपाली नागरिकप्रति राज्यको दायित्व वहन गर्न सरकारलाई निर्देशन दिएको हो ।
आयोगले विज्ञप्तिमा मुख्य सिमा नाका बन्द हुँदा वैकल्पिक बाटोबाट स्वदेश प्रवेश गरेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण नहुने तथा गाउँसहरमा लुकिछिपी रहने कारणबाट संक्रामक रोगको जोखिम बढ्ने चिन्तासमेत व्यक्त गरेको छ ।
आयोगले विज्ञप्तिमा आफ्ना नागरिकको मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्बद्र्धन गरी राज्यको दायित्व वहन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

No comments:

Post a Comment