Saturday, May 30, 2020

पीडितलाई पीडककै जिम्मा लगाउनेहरूलाई समेत कारबाही गर : मानव अधिकार आयोग

‘बालबालिकाको बाँच्न पाउने हक सुनिश्चित गर’
काठमाडौं, १६ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले रूपन्देहीको देवदह नगरपालिका–११ की बलात्कृत १३ वर्षीया बालिकालाई पीडककै जिम्मा लगाउने व्यक्तिहरूलाई समेत कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गरी बालिकामाथि जेठ ९ र १० गते भएको बलात्कारको घटना र उनको शंकास्पद मृत्युप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दोषी सबैलाई कानुनी कारबाही गर्न निर्देशन दिएको हो । आयोगले बालबालिकाको बाँच्न पाउने हक सुनिश्चित गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

आयोगले विज्ञप्तिमा बलात्कारको घटनापश्चात दोषीलाई कानुनी कारबाही प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधिसमेतको रोहवरमा आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाउनु झन् चिन्ताजनक भएको टिप्पणी गरेको छ ।

आयोगले आरोपीको जिम्मा लगाइएपछि अन्तरजातीय भन्दै बलात्कृत बालिकालाई घर भित्रिन नदिएपश्चात् भएको शंकास्पद मृत्युको सम्बन्धमा आफ्नो कार्यालयले समेत घटनास्थलमा पुगी छानबिन गरिरहेको जनाएको छ ।
‘बालिकालाई आरोपितको घर पठाउनेहरूउपर समेत निष्पक्ष अनुसन्धान गरी बलात्कार र शंकास्पद मृत्युको घटनामा संलग्न सबै दोषीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा छ ।
आयोगले समाजमा श्रृंखलावद्ध रूपमा भइइरहेका यस प्रकारका घटनाबाट बाल अधिकार, जातीय विभेद विरुद्धको अधिकार र सम्मानपूर्वक बाँच्न पाउने तथा छुवाछुत तथा भेदभावविरुद्धको संवैधानिक तथा कानुनी हक उल्लंघन भइरहेको जनाएको छ ।
आयोगले विज्ञप्तिमा मुलुकका विभिन्न भागमा विगत केही समययता श्रृङ्खलावद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाहरूप्रति शून्य सहनशीलता कायम गरी तत्काल निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कानुनी कारबाहीमा दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

No comments:

Post a Comment