Monday, May 4, 2020

कोरोना फैलिन नदिन भारतबाट तत्काल नेपाली फर्काउन सकिन्न : प्रधानमन्त्री

लकडाउन पालना र सिमा नाकामा थप कडाइ गर्न निर्देशन
काठमाडौं, २१ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतमा रहेका नेपालीहरूलाई तत्काल फर्काउन नहुने बताएका छन् ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकमा ओलीले नेपालमा भन्दा भारतमा संक्रमण बढी फैलिएकाले त्यहाँ रहेका नेपालीलाई अहिल्यै फर्काउनु जोखिमपूर्ण हुने बताएको जानकारी एक मन्त्रीले दिएका छन् ।
मन्त्रिपरिषदमा भारतमा अलपत्र नेपालीहरूलाई के गर्ने भन्ने प्रसंग उठ्दा प्रधानमन्त्री ओलीले तत्काल फर्काउन नसकिने धारणा व्यक्त गरेको जानकारी एक मन्त्रीले दिए ।

‘भारतमा हजारौं नेपाली अलपत्र छन् । उनीहरू नेपाल आउन चाहन्छन् । अरू मुलुकमा अलपत्र परेका नेपालीहरूको संख्या पनि ठूलो छ, तिनलाई के गर्न सकिन्छ ?’ भनेर मन्त्रीहरूले मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

ती मन्त्रीका अनुसार प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भारत र अन्य मुलुकमा रहेका नेपालीको अवस्था गम्भीर नरहेको र त्यहाँका सरकारले खानपिनसहित बसोबासको व्यवस्था गरिरहेको बताएका थिए । उनले विदेशमै नेपालीहरूलाई सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउन त्यहाँका सरकार प्रमुख र विदेशमन्त्री तहमा वार्ता र छलफल भइरहेको जानकारीसमेत गराए । 
उनले विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउने सस्तो लोकप्रियतावादी कुरा नगर्नसमेत मन्त्रीहरूलाई आग्रह गरेका थिए । उनले सिमा नजिक रहेका १२ सय जनालाई ल्याउनासाथ भारतको दिल्लीसहित विभिन्न सहरमा रहेका नेपालीले समेत उद्धार गरिदिन आग्रह गर्न थालेको र त्यो तत्काल थेगिनसक्नु रहेको बताए ।  
मन्त्रिपरिषद बैठकले लामो छलफलपछि भारतसहित विदेशी मुलुकमा रहेका नेपालीहरूको तत्काल उद्धार सम्भव नभएको निष्कर्ष निकालेको जानकारीसमेत ती मन्त्रीले दिए ।
ती मन्त्रीका अनुसार मन्त्रिपरिषदले भारतमा अलपत्र नेपालीहरूको समस्या समाधान गर्न त्यहाँ रहेको नेपाली दूताबासलाई जिम्मा दिने निर्णय गरेको छ ।  परराष्ट्र मन्त्रालयले तत्काल दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन दिने जानकारीसमेत ती मन्त्रीले दिए ।
ओलीले भारतबाट कोरोना संक्रमण भित्रिन नदिन सिमामा हुने आवतजावतमाथि अझै कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘अहिले नाकाहरू सिल गरिएको छ तर लुकिछिपी मान्छेहरू आइरहेका छन् भन्ने सूचना आएको छ । सिमाका भारतीय अधिकारीहरूसँग कुरा गरेर सीमामा थप कडाइ गराउन गृहमन्त्रीलाई निर्देशन दिनु भएको छ’ ती मन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोक्ने र यसबाट हुने मृत्युलाई शून्यमा राखिरहने एउटै उपाय लकडाउनमात्रै रहेकाले यसलाई कडाइका साथ पालना गराउनसमेत गृहमन्त्रीलाई निर्देशन दिए ्।
‘मुलुकमा लकडाउनकै कारण कोरोना भाइरसको संक्रमण नफैलिएको हो । संक्रमण शून्यमा झार्ने उपाय पनि लकडाउन नै हो, त्यही कारण लकडाउनलाई कडाइका साथ पालना गराउनुबाहेक अर्को विकल्प छैन’ प्रधानमन्त्रीको भनाइ थियो । 
मन्त्रिपरिषदमा लकडाउनलाई विस्तारै खुकुलो बनाई मुलुकमा अािर्थक गतिविधि बढाउनेबारेमा छलफल भए पनि त्यसबारेमा कुनै निर्णय भने नभएको जानकारी स्रोतले दिएको छ । 
वैशाख २५ पछि लकडाउन खुकुलो बनाउनेबारेमा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समिति र मातहतमा रहेको मुख्यसचिव लोकदर्शन रेग्मीको समितिको सुझावअनुसार मन्त्रिपरिषदको अर्को बैठकले आवश्यक निर्णय लिने जानकारी स्रोतले दिएको छ ।


No comments:

Post a Comment