Tuesday, January 1, 2013

अनियमिततामा संलग्न प्राधिकरणका १० कर्मचारी अतिरिक्त समूहमा

सञ्चालक समितिद्वारा ६० दिनभित्र महसुल नतिर्नेको लाइन काट्न निर्देशन
काठमाडौं, १७ पुस– विद्युत् प्राधिकरणको व्यवस्थापनले विद्युत् चुहावट र महसुल हिनामिनामा संलग्न रहेको आशंकामा आफ्ना १० जना कर्मचारीलाई प्रारम्भिक कारबाहीस्वरूप दायित्वविमुख गरी अतिरिक्त समूहमा राखेको छ ।
प्राधिकरण सञ्चालक समितिको निर्देशनमा व्यवस्थापनले महसुल संकलनमा ढिलाइ, ग्राहकको मिटर चेकिङमा लापर्बाही गरेको र महसुल उठ्तीको रेकर्डलाई तलमाथि गरी प्राधिकरणलाई घाटा पु¥याएको पाइएकाले ती कर्मचारीलाई अतिरिक्त समूहमा तानिएको जानकारी प्राधिकरणका एक अधिकारीले सदस्यले दिए ।
अतिरिक्त समूहमा तानिएका कर्मचारीमा काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुख जुजुकाजी रञ्जित, भक्तपुर डिभिजन सेन्टरका प्रमुख राजु केसी, लेखा प्रमुख वसन्त ढुंगाना, सहायक इन्जिनियर सूर्यभक्त श्रेष्ठ, सुपरभाइजरद्वय नारायण सापकोटा र धर्मेन्द्र राव तथा महाराजगन्ज वितरण केन्द्रका प्रमुख तारानाथ शर्मा, लेखा प्रमुख नारायण शर्मा, इन्जिनियर नन्दकिशोर मण्डल छन् ।
गत साता प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लीलामणि पौडेलले व्यवस्थापनलाई समिति गठन गरी विद्युत् चुहावट र महसुल हिनामिनामा संलग्न कर्मचारीहरूमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका थिए ।
प्राधिकरणको प्रशासन विभागका नायव महाप्रबन्धक बद्रीनाथ रोक्काले ती कर्मचारीलाई उनीहरूको हालको दायित्वबाट हटाइएको प्राधिकरणको सचिवालयमा ल्याइएको जानकारी दिए । ‘उनीहरूमाथि कारबाही गर्न थप छानबिन गरिनेछ’ उनले भने ।
रोक्काले आरोपित कर्मचारीमध्ये निर्दोष पाइएमा उनीहरूलाई पुरानै दायित्वमा फर्काइने र दोषी पाइएमा कारबाही गरिने जानकारी दिए । प्राधिकरणको व्यवथापनद्वारा गठित समितिले कर्मचारीहरूबाट देशभर यस्ता प्रकृतिका अनियमितता भए÷नभएकोबारेमा व्यापक रूपमा अनुसन्धान गरिरहेको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकमा अध्यक्ष पौडेलले व्यवस्थापनलाई महसुल वक्यौता राख्ने जुनसुकै ग्राहकको विद्युत् लाइन काट्न निर्देशन दिएका छन् । पौडेलले महसुल नतिर्ने सरकारी कार्यालय, संस्थान, होटल, उद्योगधन्दा र सर्वसाधारण ग्राहक जोसुकैको लाइन काट्न निर्देशन दिएको जानकारी सञ्चालक समितिका एक सदस्यले दिए । पौडेलले प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गरी बिल दिएको ६० दिनभित्र महसुल नतिर्ने सम्पूर्ण ग्राहकको लाइन काट्न निर्देशन दिएको जानकारी सञ्चालक समितिका एक सदस्यले दिए ।
सञ्चालक समितिले विद्युत्का ठूला ग्राहकहरूले कर्मचारीसितको मिलेमतोमा महसुल हिनामिना गरेको हुन सक्ने आशंकामा छानबिन गर्न निर्देशन दिएको छ । व्यवस्थापनले सञ्चालक समितिको बैठकमा ठूला सय ग्राहकको नाम प्रस्तुत गरेको थिए । ती ग्राहकको विद्युत् उपभोगको दर हेर्दा कतिपयले कर्मचारीसितको मिलेमतोमा व्यापक रूपमा विद्युत् महसुल चुहावट गरेको पाइएकाले सञ्चालक समितिले छानबिन गर्न निर्देशन दिएको हो ।

No comments:

Post a Comment