Tuesday, January 15, 2013

भारतद्वारा ३० मेगावाट विद्युत् कटौती

  • हेटौंडा डिजेल प्लान्टबाट विद्युत् उत्पादन बन्द
  • लोडसेडिङ अझ बढ्ने
काठमाडौं, २ माघ– भारतले सोमबारदेखि विद्युत् आपूर्तिमा कटौती गरेपछि मुलुकको विद्युत् प्रणालीमा ३० मेगावाट बिजुली घटेको छ । मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला भारतले अचानक ३० मेगावाटको हाराहारीमा विद्युत् कटौती गरेपछि लोडसेडिङ झन् बढ्ने चिन्ता विद्युत् प्राधिकरणका अधिकारीले व्यक्त गरेका छन् ।
प्राधिकरणका प्रवक्ता शेरसिंह भाटका अनुसार भारतले तत्कालका लागि रक्सौल–वीरगन्ज, सीतामढी–जलेश्वर र कटैया–राजविराज गरी तीन ठाउ“का ३२ केभी प्रसारण लाइनबाट पूर्ण रूप बिजुली दिन बन्द गरेको छ ।
त्यसैगरी भारतले तत्कालका लागि भन्दै कटैया–दुहवीको १३२ केभी प्रसारण लाइनबाट २० मेगावाटको हाराहारीमा बिजुली कटौती गरेको छ । कटैया–दुहवी प्रसारण लाइनबाट नेपालले ७० देखि ७५ मेगावाट बिजुली आयात गर्दै आएकामा भारतले सोमबारदेखि ५० देखि ६० मेगावाटमात्र दिन थालेको छ ।
भाटले भारतले कति समयका लागि बिजुली कटौती गरेको हो भन्ने थाहा हुन बा“की रहेको बताउ“दै कटौती हुने समय यकिन भएपछिमात्र लोडसेडिङमा कति असर गर्छ भन्न सकिने बताए ।
‘भारतले तत्कालका चार ठाउ“बाट ३० मेगावाटको हाराहारीमा बिजुली कटौती गरेको छ । भारतले एक/दुई दिनका लागिमात्र कटौती गरेको हो भने लोडसेडिङको समस्या खासै बढ्दैन । तर, लामो समयका लागि हो कि होइन भन्ने कुरा भारतबाट जानकारी नआइकन कति लोडसेडिङ बढ्छ भनेर बोल्नु हतार हुन्छ’ भाटले कान्तिपुरसित भने ।
डिजेल प्लान्ट पनि बन्द
आवश्यकताअनुसार डिजेल आपूर्ति हुन नसकेका कारण हटौंडा डिजेल प्लान्टबाट समेत सोमबार विद्युत् उत्पादन बन्द भएको छ । उक्त प्लान्टबाट सरकारले दैनिक १० मेगावाट बिजुली निकाल्दै आएको थियो ।
‘उक्त प्लान्टलाई दैनिक चार ट्यांकर डिजेल चाहिनेमा आइतबार आयल निगमले ३ ट्यांकरमात्र दियो । सोमबार कत्ति पनि नदिएकाले प्लान्टबाट बिजुली उत्पादन बन्द भएको छ’ प्राधिकरणका एक अधिकारीले भने । ती अधिकारीले मंगलबारदेखि भने निगमले आवश्यकताअनुसार डिजेल दिने र बिजुली उत्पादन हुने जानकारी दिए ।


No comments:

Post a Comment