Monday, January 28, 2013

सचिवत्रय सिलवाल, शर्मा र खतिवडाको सरुवा


काठमाडौं, १५ माघ– सरकारले तीन मन्त्रालयका सचिवको हेरफेर गरेको छ । सरकारले छ सचिवको सरुवा गरेको साढे दुई सातामै पुनः तीन सचिवको हेरफेर गरेको हो । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले गरेको तीन सचिव सरुवाको निर्णयलाई आइतबारमात्र माइन्युट गरिएको छ ।
सचिवहरू सूचना तथा सञ्चार मन्त्रालयका सूर्यप्रसाद सिलवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, शान्ति मन्त्रालयका ध्रुव शर्मालाई सूचना तथा सञ्चारमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका धरणीधर खतिवडालाई शान्ति मन्त्रालयमा सरुवा गरिएको जानकारी स्रोतले दिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई सरकार सचिवहरूको सबभन्दा धेरैपटक सरुवा गराई प्रशासनलाई अस्थिर बनाउने सरकार भएको को छ । भट्टराई सरकारको डेढ वर्षको कार्यकालमा दसपटक सचिवको सरुवा भइसकेको छ ।
सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवसित कुरा नमिलेकाले उनकै दबाबमा सिलवालको सरुवा गरिएको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार यादवको पटकपटकका कानुनविपरीतका निर्णयमा साथ दिन अस्वीकार गरेपछि सिलवाललाई गरिएको हो । सिलवाललाई मन्त्रिपरिषदमा ल्याउने क्रममा अरू दुई सचिवलाई समेत सरुवा गर्नुपरेको हो । सूचना मन्त्रालयबाट दूर सञ्चार प्राधिकरणको अध्यक्षमा कानुनविपरीत योग्यता नपुगेका दिगम्बर झालाई नियुक्तिको प्रस्ताव गरेदेखि मन्त्री यादव र सचिव सिलवालबीच मत बाझिन थालेको थियो ।
सरकारले गत २५ पुसमा छ सचिवको सरुवा गरेको थियो । त्यतिबेला सचिवहरू श्रम तथा रोजगार मन्त्रालयका सोमलाल सुवेदीलाई शिक्षामा, शिक्षाका सुरेशमान श्रेष्ठलाई श्रममा, भूमिसुधारका सुशील घिमिरेलाई पर्यटन तथा नागरिक उड्डयनमा, निर्वाचन आयोगका ज्ञानदर्शन उदासलाई भूमिसुधारमा, पर्यटनका यज्ञ गोतमलाई प्रधानमन्त्री कार्यालयमा, प्रधानमन्त्री कार्यालयका नारायणगोपाल मलेगोलाई निर्वाचन आयोगमा सरुवा गरिएको थियो ।

No comments:

Post a Comment