Monday, January 28, 2013

प्रधानमन्त्रीको स्वकीय सचिवालय पनि जम्बो

डेढ करोडभन्दा बढी खर्च भइसक्यो
काठमाडौं, १५ माघ– प्रधानमन्त्री बाबुराम भट्टराईले स्वकीय सचिवालयमा सबैभन्दा बढी कर्मचारी नियुक्ति गरेर सबै पूर्ववर्ती प्रधानमन्त्रीको रेकर्ड तोडेका छन् ।
अघिल्ला प्रधानमन्त्रीहरूले स्वकीय सचिवालयमा बढीमा २३ कर्मचारी राखेकामा भट्टराईले दोब्बर राखेको मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले जनाए । ती कर्मचारीको तलबभत्ता, गाडी, इन्धन र सञ्चार सुविधाका लागि डेढ वर्षमा १० करोड रुपैया“भन्दा बढी खर्च भइसकेको छ ।
भट्टराईले स्वकीय सचिवालयमा ४६ कर्मचारी नियुक्त गरेका छन् । पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालका पालामा बढीमा २३ जनासम्म मात्र नियुक्त गरिएका थिए ।
प्रधानमन्त्रीको भेटघाट र काममा सघाउन तथा स्वकीय सचिवालय व्यवस्थित गर्न नियुक्त कर्मचारीमध्ये माथिल्लो तहका कर्मचारीलाई भट्टराईले आफ्नो पक्षमा ‘प्रोपोगान्डा’ गर्ने काममा उपयोग गरेको समेत स्रोतले जनायो ।
स्रोतका अनुसार सामाजिक सञ्जाल ट्विटर, फेसबुक र इमेलमार्फत स्वकीय सचिवालयका कर्मचारीहरूले भट्टराईका पक्षमा प्रचार गर्ने गरेका छन् । प्रधानमन्त्रीले कुनै दलका नेतासित गरेका भेटघाटलाई समेत उनीहरूले भट्टराई सरकारको स्वार्थअनुकूल व्याख्या गर्दै आएका छन् । त्यस्ता प्रोपोगान्डाले अरू दलका कतिपय नेता आफ्ना पार्टीमा अप्ठ्यारामा पर्ने गरेका छन् । ‘राज्यकोषबाट तलब बुझ्ने स्वकीय सचिवालयका कर्मचारीहरूलाई एमाओवादी पार्टी, प्रधानमन्त्री र सरकारका कमजोरी ढाकछोप गर्ने औजारका रूपमा उपयोग गरिएको छ,’ स्रोतले भन्यो ।
प्रोपोगान्डा गर्न प्रधानमन्त्रीले स्वकीय सचिवालयमा सहायकमन्त्रीस्तरका एक, सचिव तहका दुई, सहसचिव तहका पा“च र उपसचिव तहका तीन कर्मचारी राखेका छन् ।
‘स्वकीय सचिवालयका कर्मचारीको काम प्रधानमन्त्रीको भेटघाट र उनको काममा सघाउ पु¥याउनुमात्र हो, त्यसका लागि यति ठूलो संख्यामा कर्मचारी आवश्यक हु“दैन,’ मन्त्रिपरिषद् सचिवालयका एक उच्च अधिकारीले कान्तिपुरसित भने, ‘प्रधानमन्त्रीले स्वकीय सचिवालयका कर्मचारीलाई आफ्नो पक्षमा प्रोपोगान्डा गर्न लगाउनु, आफ्नो विरोध गर्नेलाई गालीगलौज गर्न लगाउनु राज्यकोषकै दुरुपयोग हो ।’
मुस्ताङ म्याक्स गाडी चढेर र विदेश भ्रमण जा“दा जहाजमा इकोनोमिक क्लासमा यात्रा गरेर चर्चामा आएका प्रधानमन्त्रीले स्वकीय सचिवालयमा यति धेरै कर्मचारी राखेर आफ्नै मितव्ययी नीतिको खिल्ली उडाएका छन् । प्रधानमन्त्रीले सल्लाहकार समूह र स्वकीय सचिवालयमा ४६ जनाभन्दा बढी नियुक्त गर्नु सुशासन नियमावलीविपरीत छ । नियमावलीमा प्रधानमन्त्रीले आफ्नो सल्लाहकार समूह र स्वकीय सचिवालयमा गरी ४६ जनामात्र नियुक्त गर्न पाउने व्यवस्था छ । भट्टराईले सल्लाहकारबाहेक नै स्वकीय सचिवालयमा मात्र ४६ जना राखिसकेका छन् । नियमावलीमा व्यवस्था भएभन्दा माथिल्लोस्तरका र बढी तलबभत्ता तथा गाडी सुविधा र सञ्चार खर्च पाउने कर्मचारी राखिएका छन् ।
प्रधानमन्त्रीले राजनीतिक सल्लाहकारमा देवेन्द्र पौडेल र प्रेस सल्लाहकारमा रामरिझन यादव र आर्थिक सल्लाहकार पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा आर्थिक सल्लाहकार परिषद् नै राखेका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयमा रहने सरकारी कर्मचारीहरू आफ्नो दायित्व बाहिर गएर प्रोपोगान्डामा नलाग्ने भएकाले भट्टराईले स्वकीय सचिवालयमा धेरै कर्मचारी राखेर आफ्नो पक्षमा दुरुपयोग गरेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीले सहायक मन्त्रीस्तरका प्रमुख स्वकीय सचिवमा गंगानारायण श्रेष्ठ, सचिवस्तरका स्वकीय सचिवमा फणीन्द्र देवकोटा, सुभाष पाण्डे, सहसचिवस्तरका स्वकीय सहसचिवमा विष्णुप्रसाद दाहाल, प्रदीप देवान राई, बाबुराम प्रसाद, भूमिनन्द देवकोटा, अर्जुनप्रसाद न्यौपानेलाई राखेका छन् ।
प्रधानमन्त्रीका सल्लाहकारका अतिरिक्त प्रमुख स्वकीय सचिवदेखि सहसचिवस्तरका स्वकीय सचिव गरी आठ जनालाई गाडी, इन्धन र सञ्चार सुविधा दिइएको छ । स्वकीय सचिवालयका कर्मचारीको तलबभत्ता, गाडी, इन्धन र सञ्चार सुविधाका लागि डेढ वर्षमा १० करोड रुपैया“भन्दा बढी खर्च भइसकेको बालुवाटार स्रोतले जनायो । अघिल्ला प्रधानमन्त्रीका पालामा स्वकीय सचिवालयका कर्मचारीका लागि यसको आधा पनि खर्च हु“दैनथ्यो ।
उपसचिवस्तरका स्वकीय उपसचिवमा करुणा बस्नेत, देवसागर दास, मञ्जु बम, शाखा अधिकृतस्तरका स्वकीय शाखा अधिकृतमा सरिता अधिकारी, तीलबहादुर बुढा क्षत्री, सुरेश लुइ“टेल, पुरुषोत्तम खनाल, अब्दुल ओहिद अन्सारी,  टेकबहादुर खड्का, अस्मिता चौधरी (खड्का), दिनेश श्रेष्ठ (फोटोग्राफर), प्रशान्त लामिछाने छन् । प्रशासन सहायक र कम्प्युटर सहायक नै ११ जना र हल्का सवारी चालक ४ जना राखिएको छ । बा“की एक जना लेखापाल र कार्यालय सहयोगी छन् ।

No comments:

Post a Comment