Friday, August 19, 2011

अवरुद्ध रसुवागढी पुलको निर्माण कार्य अब सुचारु हुने

काठमाडौं, २ भदौ- नेपाल र चीनबीच दोस्रो व्यापारिक नाका खोल्ने महत्वपूर्ण रसुवागढी पुलको अवरुद्ध निर्माण कार्य अब सुचारु हुने भएको छ । नेपाल र चीनबीच उक्त पुल निर्माणसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएकाले अब तुरुन्तै निर्माण कार्य सुरु हुने जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख कमलराज पाण्डेले दिए ।
स्याप्रुबेसी-रसुवागढी सडक निर्माणसम्बन्धमा चीन र नेपालबीच भएको केही वर्षअघि सम्झौतामा उक्त पुलका बारेमा कुनै उल्लेखै नभएकाले दुई देशबीच जोड्ने दोस्रो मितेरी पुलको नेपालतर्फको निर्माण झन्डै एक वर्षदेखि अवरुद्ध थियो । जबकि दुई देशको सीमा पुलको चीनले एक वर्षअघि सुरु गरी आफ्नातर्फ ७० प्रतिशत निर्माण कार्य सकिसकेको छ । तर सम्झौताको अभावमा उक्त पुलको नेपालतर्फ निर्माणको काम सुरु नै हुन सकेको थिएन ।
रसुवागढीनजिक चिनियाँ व्यापारिक सहर केरुङ जोड्ने सडकको महत्वपूर्ण पुल निर्माण कार्य अघि बढाउन झन्डै एक वर्षदेखि दुई देशबीच समझौता गर्न गृहकार्य हुँदै आएको थियो । गृहकार्य सम्पन्न भएपछि चीनको राजधानी बेइजिङमा दुई देशबीच सम्झौता भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट भौतिक योजना सचिव पूर्ण कडरिया र चीनका तर्फबाट त्यहाँका यातायात उपमन्त्री वेङ मेङयोङले हस्ताक्षर गरेका छन् ।
नेपाल र चीनबीचको स्याप्रुबेसी-रसुवागढी सडकको ट्रयाक खुलिसकेको छ । आगामी मंसिर महिनासम्म उक्त सडक र रसुवागढी पुल निर्माण कार्य सम्पन्न हुने जानकारी पाण्डेले दिए । रसुवागढीबाट केरुङसम्म चिनियाँ साइडमा यसअघि नै सडक निर्माण भइसकेको छ । उक्त सडक सुचारु भएपछि नेपाल-चीनबीच तातोपानीपछि रसुवागढी दोस्रो ठूलो व्यापारिक नाका हुनेछ ।

No comments:

Post a Comment