Wednesday, August 24, 2011

ठेकेदारले भुक्तानी नपाएपछि चमेलियाको ठेक्का नै रद्द गर्ने चेतावनी

रकम अभावले कुलेखानी तेस्रोको निर्माणमा ढिलाइ
काठमाडौं, ७ भदौ- चमेलिया जलविद्युत् आयोजनाको सिभिल कन्सट्रक्सन मेकानिकल तथा प्रसारण लाइन निर्माण गर्दै आएका दुवै ठेकेदारले विद्युत् प्राधिकरणबाट लामो समयदेखि भुक्तानी नपाएकामा ठेक्का सम्झौता नै तोड्ने लिखित चेतावनी दिएका छन् ।
चिनियाँ र कोरियाली ठेकेदारले आफूले भुक्तानी पाउनुपर्ने रकम २४ करोड रुपैयाँभन्दा बढी पुगेपछि प्राधिकरणलाई हालै पत्र लेखी ठेक्का सम्झौता नै रद्द गर्ने चेतावनी दिएका हुन् । एक महिनाभित्रमा ठेकेदारको भुक्तानी दिन नसकिएमा ठेक्का सम्झौता नै तोडिने र ७३ प्रतिशत काम सकिइसकेको ३० मेगावाट क्षमताको चमेलिया आयोजनाको भविष्य नै अनिश्चित हुने खतरा बढेको जानकारी प्राधिकरणका अधिकारीले दिए ।
चमिलयाको सिभिल कन्स्ट्रक्सनको ठेकेदार चाइना गेजाउ वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडले ठेक्का सम्झौता तोड्ने लिखित चेतावनी दिएको तीनपटक भइसकेको छ । चमेलियासम्म प्रसारण लाइन र मेकानिकलको ठेकेदार कोरियाली कम्पनी केएचएनपीले भने पहिलोपटक ठेक्का तोड्ने चेतावनी दिएको हो । ठेकेदारलाई भुक्तानी गर्न नसकेपछि चमेलियाका आयोजना प्रमुख गोपालबाबु भट्टराई आयोजनास्थलमा जान डराएर केन्द्रमै बसिरहेका छन् । भुक्तानी दिन नसक्ता आयोजना निर्माण अनिश्चित हुनुका अतिरिक्त अन्तर्राष्ट्रय ठेकेदारका सामु मुलुककै बेइज्जती भइरहेको प्राधिकरणका कर्मचारी बताउँछन् ।
लोडसेडिङको समस्या समाधान गर्न धमाधम विभिन्न कम्पनी कोष र विकास समिति गठनको निर्णय गराउँदै आएका ऊर्जा मन्त्री गोकर्ण बिष्ट ठेकेदारलाई भुक्तानी गर्ने रकमको अभावले प्राधिकरणका निर्माणाधीन चमेलिया र कुलेखानी तेस्रोको निर्माण कार्य अवरुद्ध हुन लाग्दा पनि गम्भीर नभएको गुनासो आयोजनाका कर्मचारीले गरेका छन् । प्राधिकरणलाई आवश्यक चालू खर्चका लागि रकम व्यवस्था गरिदिन अर्थ र ऊर्जा मन्त्रालयले बेवास्ता गरेको आरोपसमेत ती कर्मचारीको छ । १४ मेगावाटको कुलेखानी तेस्रोमा समेत भुक्तानी दिने रकमको अभावले निर्माणमा ढिलाइ भइरहेको छ तर यो आयोजनामका ठेकेदारले ठेक्का सम्झौता तोड्ने चेतावनी भने दिइसकेका छैनन् ।
प्राधिकरणले चमेलियाको सिभिल कन्स्ट्रक्सनको ठेकेदार चाइना गेजाउ वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई २० करोड र कोरियाली ठेकेदार केएचएनपीलाई ४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । प्राधिकरणले ठेकेदारलाई छ महिनादेखि भुक्तानी दिन सकेको छैन । 'ठेकेदारलाई रेगुलर बिलकै भुक्तानी दिन बाँकी रकम २४ करोड रुपैयाँ पुगिसकेको छ त्यसबाहेक ठेकेदारले भेरिएसन अर्डरबापत थप ६० करोड माग गरिसकेका छन्' प्राधिकरणका एक अधिकारीले भने ।
प्राधिकरणले मातहतका विभिन्न आयोजनाका ठेकेदारलाई भुक्तानी गर्न बाँकी रकम नै २ अर्ब रुपैयाँ पुगिसकेको छ तर ऊसँग चालू खर्चका लागि रकम नै छैन । विभिन्न आयोजनाका ठेकेदारलाई बाँकी भुक्तानी दिन तथा दैनिक प्रशासन चलाउनसमेत रकमको अभाव झेलिरहेको प्राधिकरणलाई चमेलियाका दुवै ठेकेदारले दिएको चेतावनी र कुलेखानी तेस्रोमा रकमको अभावले झन् ठूलो आर्थिक समस्यामा पारेको छ । ऊर्जा मन्त्रालयले हालै सरकार जमानी बसी नागरिक लगानी कोषबाट डेढ अर्ब रुपैयाँ दिन गरेको प्रस्तावलाई मन्त्रिपरिषदले अस्वीकार गरेपछि प्राधिकरण झन् बढी संकटमा परेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीपेन्द्रनाथ शर्माले चमेलिया जलविद्युत् आयोजनाका ठेकेदारले पत्र लेखी ठेक्का तोड्ने चेतावनी दिएको स्वीकार गरे । दार्चुलाको शिखर-४ बलाँचमा निर्माणाधीन चमेलियाको सिभिल कन्स्ट्रक्सन मेकानिकल र प्रसारण लाइन निर्माणको ठेक्का रद्द भयो भने उक्त आयोजनाको निर्माण कार्य नै धरापमा पर्नेछ । '७३ प्रतिशतभन्दा बढी काम सकिइसकेको आयोजनाको ठेक्का सम्झौता तोडियो भने उक्त आयोजनाको भविष्य नै अन्धकारमा पर्छ पुनः ठेकेदार आह्वान गरी निर्माणमा जाँदा एकातिर आयोजना सम्पन्न हुने समय एक/दुई वर्ष लम्बिन्छ भने लागतसमेत ठूलोमात्रामा बढ्छ' प्राधिकरणका एक अधिकारीले भने ।
सुरुमा सन् २०११ को अन्त्यसम्म सक्ने लक्ष्य राखिएको उक्त आयोजनामा निर्माणमा समस्या उत्पन्न भएपछि सम्पन्न हुने समय दुई वर्ष लम्बिने भएको छ । कमजोर भूबनोटका कारण टनेल पावर हाउसलगायतका सिभिल संरचना निर्माणमा समस्या उत्पन्न भएको भन्दै ठेकेदारले थप काम अर्थात् भेरिएसन अर्डरबापत प्राधिकरणसित थप माग गरेको ६० करोड रुपैयाँको विवादसमेत टुंग्याउन बाँकी नै छ ।

No comments:

Post a Comment