Friday, August 5, 2011

प्रचण्डको उम्मेदवार देउवा, कोइरालाको भने प्रचण्ड

काठमाडौं, २० साउन- सत्ताका लागि हानाथाप भइरहेका बेला प्रमुख दुई दल माओवादी र कांग्रेसका नेतृत्वमा एकै किसिमको अनौठो संयोग देखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति सुशील कोइराला दुवै आफ्नो पार्टीका नेता प्रधानमन्त्री नबनून् भन्ने पक्षमा लागेका छन् । प्रचण्ड कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा छन् भने कोइराला प्रचण्डलाई । जब कि प्रचण्ड र देउवा दुवै पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार होइनन् । लामो अन्तरसंघर्षपछि पार्टीमा शक्ति सन्तुलन गर्दै माओवादीले भावी प्रधानमन्त्रीमा डा। बाबुराम भट्टराईलाई अघि सारेको छ भने कांग्रेसबाट संसदीय दलका नेता रामचन्द्र पौडेल नै भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् दलको नेता परिवर्तन भएमा या दलको नेता नभईकन प्रधानमन्त्री हुन पाइने गरी संसदीय दलको विधान संशोधन गरिएमा मात्र कांग्रेसबाट प्रधानमन्त्रीको अर्को उम्मेदवार बन्न सक्छ ।
कांग्रेस सभापति कोइरालाले माओवादी अध्यक्ष दाहाललाई नै भावी सरकारको नेतृत्व गर्न सार्वजनिक रुपमा प्रस्ताव गरिसकेका छन् । उनले दाहाललाई आफ्नो पार्टीले प्रधानमन्त्री स्वीकार्न माओवादी हतियार र लडाकुरहित नागरिक दलमा रुपान्तरण हुनुपर्ने शर्तसमेत राखेका छन् । प्रचण्ड आफ्नो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार होइनन् । संसदीय दलका नेता भने प्रचण्ड नै भए पनि माओवादीले हालै भावी प्रधानमन्त्रीको उम्मेदवारमा भट्टराईलाई अघि सारेको छ । उनलाई दलको नेता नबनाई प्रधानमन्त्री उम्मेदवार बनाइएको हो ।
संविधानसभाको म्याद एक महिना बाँकी रहेको र प्रधानमन्त्री झलनाथ खनालको राजिनामाको दिन नजिकिइरहेका बेला दलहरुबीच नेतृत्वका लागि हानाथाप हुनुपर्नेमा भावी प्रधानमन्त्रीमा माओवादी नेतृत्वले कांग्रेस नेता खोज्ने कांग्रेस नेतृत्वले माओवादी नेता खोज्नु आफैंमा रहस्यमय छ । प्रचण्ड र कोइरालाको यो व्यवहार रणनीतिक हो कि वास्तविक एक अर्को पार्टीले राम्ररी बुझेका छैनन् । प्रचण्डले अनौपचारिक रुपमा प्रधानमन्त्रीमा देउवालाई अघि बढ्न आग्रह गरेपछि कांग्रेसमा दलको नेतालाई लिएर बिग्रह उत्पन्न भएको छ । देउवा पक्षले पौडेललाई दलको नेताबाट हटाउन कहिले हस्ताक्षर अभियान चलाउने त कहिले कोइरालालाई समर्थन गर्न दबाब दिने काम गरिरहेको छ । कांग्रेस केन्द्रीय समितिबाट उपसभापतिमा पौडेल र महामन्त्रीमा कृष्ण सिटौलालाई अनुमोदन गर्ने क्रममा सभापति कोइरालाले देउवालाई दलको नेता दिने सहमति गरेको दाबी देउवा पक्षको छ । तर कोइरालाले त्यस्तो कुनै सहमति नभएको बताउँदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार हुने बैठकमा देउवाले दलको नेता दाबी गरिरहेकाले पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेबारेमा गम्भीर विवाद उत्पन्न हुने स्रोतले उल्लेख गरेको छ । प्रचण्डले आफ्नो पार्टीबाट प्रस्तावित उम्मेदवार भट्टराईलाई रोक्न देउवालाई इमानदार भएर बनाउन खोजेका हुन् कि कांग्रेसमा बिग्रह ल्याउन त्यो पछि थाहा नै हुने कांग्रेस नेताहरु बताउँछन् । प्रचण्डले कांग्रेसमा बिग्रह ल्याउन खोजेका हुन् भने त्यसमा पूर्ण सफल भएको कांग्रेसी नेता बताउँछन् ।
प्रचण्डले देउवालाई प्रस्ताव गर्नुमा दुई कारण छन् । पहिलो देउवा वर्तमान प्रधानमन्त्री खनालजस्तै आफ्ना लागि लचिलो हुने र पद पाएपछि आफूले भनेका सबै कुरा उनले मान्छन् भन्ने विश्वास प्रचण्डको छ । देउवा तीन दलको शीर्ष नेताको बैठकमा कमै जान्छन् गएका बेला पनि उनी आफ्नो पार्टीको अडानअनुसार बोल्दैनन् र बोलिहाले माओवादीको पक्षमा उभिन्छन् । राजधानीको गोकर्णमा गत वैशाखमा भएको तीन दलको बैठकमा कांग्रेसका अरु नेताले शान्ति प्रकि्रयालाई पूर्णता दिएर संविधान निर्माण गर्न माओवादीसित उसलाई हतियार र सेना छाडी नागरिक पार्टी हुन कब्जा सम्पत्ति फिर्ता गर्न वाईसीएलको अर्ध सैनिक संरचना विघटन गर्नुपर्ने अडान लिइरहेका बेला देउवाले फरक मत राखेको स्रोतले उल्लेख गरेको छ । बैठकमा सहभागी स्रोतका अनुसार उनले माओवादीले आफूलाई सुधार गर्दै लगेको छ भन्दै अहिल्यै सबै कुरा गर भनेर दबाब दिन नहुने भन्दै उसैको पक्षमा बोलेका थिए । उनले पार्टी अडानविपरीत बोलेका कांग्रेसका नेता डा।रामशरण महतले आपत्ति जनाएपछि दुई जनाबीच चर्को भनाभनसमेत भएको थियो । सोही बैठकको अनौपचारिक छलफलका क्रममा माओवादीका नेताले 'देउवालाई कांग्रेसले अघि सारेमा हामीले तपाईंलाई प्रधानमन्त्री स्वीकार्छौं' भनेका थिए । माओवादीको आश्वासनपछि देउवा दलको नेता हुन दौडधुपमा लागेका हुन् । । जेठ १४ अघि राजधानीमा आयोजित पार्टीको आमसभामा समेत देउवाले कोइराला र पौडेलभन्दा फरक धारमा उभिएर बोल्दै माओवादीले अघि सारेको सेना समायोजनसम्बन्धी प्रस्ताव सकारात्मक रहेको टिप्पणी गरेका थिए ।
प्रचण्डले देउवालाई प्रस्ताव गर्नुको अर्को कारण प्रधानमन्त्रीमा भट्टराईलाई रोक्नु हो । माओवादीमा उपाध्यक्षत्रय भट्टराई किरण वैद्य र नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा मिलेपछि प्रचण्ड भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार स्वीकार्न बाध्य भएका हुन् । भट्टराई प्रधानमन्त्री भएर शान्ति प्रकि्रया र संविधान निर्माण तार्किक निष्कर्षमा पुर् याउन सफल भए पार्टीको नेता नै उनै हुने र आफू कमजोर हुने विश्लेषण प्रचण्डको छ । 'पार्टीमा आफू कमजोर हुने स्थिति आउनै नदिन प्रचण्डले भट्टराईलाई प्रधानमन्त्री हुनबाट रोक्न देउवालाई प्रस्ताव गरेका हुन् कांग्रेसमा विग्रह ल्याउन होइन' अध्यक्ष निकट स्रोतले भने । प्रचण्ड निकट नेता देउवालाई प्रस्ताव गरेको औपचारिक रुपमा बताउन चाहँदैनन् ।
पार्टीमा अन्तरकलह कम गर्न माओवादीको केन्द्रीय समिति बैठकले भट्टराईलाई अघि सारे पनि प्रचण्ड उनलाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउने पक्षमा छैनन् त्यही कारण उनले देउवा कार्ड अघि सारेका हुन् । स्रोतका अनुसार उनले देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने आवश्वासन दिइसकेका छन् । 'अध्यक्षले प्रधानमन्त्रीका लागि देउवालाई सहयोग गर्न सक्ने बताइसक्नुभएको छ' उनी निकट एक नेताले कान्तिपुरसित भने- 'देउवालाई बनाउनका निम्ति आवश्यक परे एमाले अध्यक्षँ झलनाथ खनाललाई तत्काल राजिनामा गर्न मनाउने पक्षमा अध्यक्ष हुनुहुन्छ ।'
प्रचण्डको देउवा कार्डले कांग्रेसमा विवाद बढेकामा प्रतिवाद गर्न कांग्रेस सभापति कोइरालाले पनि माओवादीमा अन्तरकलह बढाउन प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेका हुन् भन्ने विश्लेषण गर्नेहरु पनि छन् । तर कोइराला निकटस्थ नेताहरु भने माओवादीमा विग्रह ल्याउनभन्दा अरु नै दुई कारणले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताउँछन् । पहिलो कारण कोइराला भित्री रुपमा दलका नेता पौडेललाई प्रधानमन्त्री बनाउन चाहन्छन् तर देउवाका कारण पौडेल प्रधानमन्त्री हुन नसक्ने चिन्ता उनमा छ । पौडेललाई बनाउन खोज्दा हरेकपटक देउवाले पार्टीमा अन्तरकलह बढाएकाले विकल्पका रुपमा प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेका हुन् त्यसमा उनी इमानदार छन् । ुपार्टीमा आफूलाई र दलमा पौडेललाई असहयोग गरिरहेका देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन कोइराला तयार छैनन् । कांग्रेस नेता प्रधानमन्त्री हुने कुरा आउनासाथ देउवाका कारण पार्टीमा बिग्रह बढ्छ देउवा प्रधानमन्त्री भइहाले आफू कमजोर हुन्छु भन्ने विश्लेषण कोइरालाको छु सुशील निकट नेताले भने । दोस्रो कारण माओवादीमा प्रचण्ड नै बलियो पकड छ । शान्ति प्रकि्रया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर् याउन माओवादीबाट आवश्यक पर्ने निर्णय गराउन प्रचण्डले मात्र सक्ने विश्लेषण कोइरालाको छ । माओवादीबाट प्रचण्डबाहेक पार्टीमा कम पकड भएको अर्को नेता प्रधानमन्त्री भएमा शान्ति प्रकि्रया अघि बढ्न नसक्ने र त्यही कारण संविधानसभाबाट संविधान पनि बन्न नसक्ने चिन्ता उनको छ । माओवादीमा विचार कार्यनीति नै नमिल्ने 'सर्प, बिच्छी र भ्यागुता' जस्ता तीनतिर फर्किएका नेताको क्षणिक मिलनले प्रचण्ड पार्टीमा तत्काललाई कमजोर देखिए पनि पछि उनकै पकड बलियो हुने कांग्रेस नेताहरु बताउँछन् । पार्टीमा प्रचण्डको भन्दा धेरै कम पकड भएका भट्टराईले प्रधानमन्त्री भएपछि पार्टीबाट शान्ति प्रकि्रया र संविधान निर्माणको पक्षमा लचिलो निर्णय गराउन नसक्ने भएकाले प्रचण्ड नै प्रधानमन्त्रीको उपयुक्त उम्मेदवार भएको कोइराला निकट नेता बताउँछन् । भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सघाउने वैद्य नै शान्ति प्रकि्रयाका सवालमा सहयोगी नहुन सक्छन् ।
'पार्टीको अध्यक्षको नाताले जसरी हिजो गिरिजाबाबुले इमानदारिताका साथ जिम्मेबारी सम्हालेर आउनुभयो त्यसैगरी प्रचण्डजीले पनि इमानदारिताका साथ जिम्मेबारी लिनुपर् यो शान्ति प्रकि्रयामा इमानदारिता देखाउनुपर् यो भनेर सभापतिले प्रचण्डलाई प्रस्ताव गर्नुभएको हो' कांग्रेस नेता डा। रामशरण महतले भने- 'अहिले सरकारको नेतृत्व लिने संभावना माओवादीकै छ । तर माओवादीले शान्ति प्रकि्रयामा इमानदारी देखाएको छैन । त्यसैले सभापति कोइरालाले प्रचण्डलाई पाटीृको अध्यक्षँको हैसियतले इमानदारीपूर्वक जिम्मेवार हुनुहोस् र नेतृत्व लिनुहोस भन्नुभएको हो । तर माओवादी हतियार र लडाकुबाट अलग नभएसम्म उसको नेतृत्व स्वीकार गर्दैनौंं । यसमा सभापति पनि दृढ हुनुहुन्छ ।'

No comments:

Post a Comment