Tuesday, August 30, 2011

आज सार्वजनिक बिदा

काठमाडौं, १३ भदौ- सरकारले मुस्लिम धर्मावलम्बीको ठूलो पर्व इदउल फित्रका दिन बुधबार देशभर सार्वजनिक बिदा दिएको छ । नेपाली जामे मस्जिद र कश्मिरी मस्जिदका मौलाना गुरु हरु ले मंगलबार साँझ चाँद चन्द्रमा देखिएको पुष्टि गर्दै गृह मन्त्रालयलाई जानकारी दिएपछि सरकारले बुधबारका लागि सार्वजनिक बिदा दिएको हो ।
भाद्र शुक्ल पक्षको द्वितीयका दिन साँझमा चन्द्रमा देखिएको हो । सरकारले इदउल फित्रका दिन हरेक वर्ष सार्वजनिक बिदा िदंदै आएको छ । तर मुस्लिम धर्मावलम्बीका मौलानाले रमजानको अन्तिम दिन चन्द्रमा देखिएको पुष्टि गरेपछिमात्र सरकारले बिदाको दिन घोषणा गर्ने गरेको छ ।
मुस्लिम धर्मावलम्बीहरुले तीस दिनसम्म दिनभर उपवास बसेर रमजान पर्व मनाउँछन् । तीसौं दिनको साँझमा चाँद देखिएपछि मुस्लिमहरुको रमजान पर्व र उपवास समाप्त हुन्छ त्यसको भोलिपल्ट मुस्लिम धर्मावलम्बीहरुले इदउल फित्र पर्व मनाउँछन् । यो पर्वमा मुस्लिम धर्मावलम्बीले बिहान इदगाह खुलाचौर मा नमाज पढ्ने र त्यसपछि दिनभर आफन्तजनहरुबीच शुभकामना आदानप्रदान गरी खुसियाली मनाउने गर्छन् ।
यस वर्ष संयोगले हिन्दू धर्मावलम्बीको तीज पर्व पनि इदउल फित्रकै दिन परेको छ । यसअघि प्रायः तीजको भोलिपल्टमात्र इदउल फित्र पर्ने गरेको थियो ।

No comments:

Post a Comment