Tuesday, July 8, 2014

कार्यवाहक प्रधानमन्त्रीद्वारा सुवेदीलाई अर्थमा लाने निर्णय रोक्न निर्देशन

काठमाडौं, २३ असार– कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले विवादास्पद सहसचिव भरत सुवेदीको अर्थमन्त्रालयमा पदस्थापना गर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई सोमबार निर्देशन दिएका छन् ।
एमालेको जारी महाधिवेशन आफ्नो गुटको पक्षमा प्रभावित पार्न गौतमले मन्त्रिपरिषदबाट सुवेदीलाई मोटो रकम लिएर अर्थमन्त्रालयमा सरुवा गर्ने निर्णय गराएको व्यापक रूपमा चर्चा भएपछि उनले मन्त्रिपरिषदको उच्च अधिकारीलाई फोन गरी सुवेदीलाई पदस्थापनाको पत्र नदिन निर्देशन दिएको जानकारी स्रोतले दिए । कार्यवाहक प्रधानमन्त्रीको निर्देशनपछि सुवेदीको निर्णय कार्यान्वयन हुने छैन ।
कार्यवाहक प्रधानमन्त्री गौतमको अध्यक्षतामा गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री रामशरण महतको ठाडो प्रस्तावमा सुवेदीलाई अर्थमन्त्रालयमा पदस्थापना गर्ने निर्णय गरेको थियो । सुवेदीलाई अर्थमा लान सुरुमा गौतम र महतको मिलोमतो रहेकोसमेत स्रोतले उल्लेख गरेको छ ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने अस्ट्रेलियाको स्थायी बसोबासको अनुमति लिएका (पीआरवाला) सुवेदीलाई अर्थमन्त्रालयमा प्रदस्थापना गर्न नहुने भनी गरेको विरोधलाई बेवास्ता गर्दै मन्त्रिपरिषदले निर्णय गरेको थियो । 

मन्त्रिपरिषदले निर्णय गरे पनि सुवेदीलाई अर्थमन्त्रालयमा पदस्थापना गर्ने पत्र दिइएको थिएन । आफ्नो सहमतिमा सुवेदीका बारेमा भएको निर्णय रोक्न गौतमले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीलाई निर्देशन दिएका हुन् ।

सुवेदी चैतमा सहसचिवमा बढुवा भएका हुन् । अर्थमन्त्री महतले सुरुदेखि नै सुवेदीलाई आफ्नो मन्त्रालयमा लान मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए । तर, सामान्य प्रशासनमन्त्री पण्डितले विदेशको ग्रीनकार्ड या पीआर लिएका कर्मचारीलाई कारबाही गर्न कानुनको प्रस्ताव गर्दै सुवेदीलाई अर्थमन्त्रालय जानबाट रोक्दै आएका थिए । पण्डितकै प्रस्तावमा मन्त्रिपरिषदले पीआर र ग्रीनकार्ड लिएका कर्मचारीलाई कारबाही गर्ने व्यवस्था गर्न मन्त्रिपरिषदले निजामती ऐन संशोधन गर्ने विधेयक संसदमा पेस गरेको छ ।
सहसचिवलाई पदस्थापना गर्दा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लाने प्रचलन छ । तर, सामान्य प्रशासनले प्रस्ताव नलगे पनि अर्थमन्त्री महतको ठाडो प्रस्ताव र कार्यवाहक प्रधानमन्त्रीको सहमतिमा मन्त्री पण्डितको विरोधलाई बेवास्ता गरी सुवेदीलाई अर्थमा पदस्थापना गर्ने निर्णय गरिएको हो । 
नेपाल प्रहरीको एआईजी बढुवा प्रकरणमा महतसहित कांग्रेसका प्रभावशाली मन्त्रीहरूको सहयोग पाउन कार्यवाहक प्रधानमन्त्री गौतम सुवेदीलाई अर्थमा पदस्थापना गर्न लचिलो भएपछि मन्त्रिपरिषदबाट निर्णय सम्भव भएको स्रोतले उल्लेख गरेको छ ।
महतले सुवेदीमा अर्थमा २३ वर्ष बसेको अनुभव भएको र त्यही कारण काममा सकारात्मक परिणाम दिन सक्छन् भन्दै उनलाई आफ्नो मन्त्रालयमा लान जिकिर गरेका थिए । सुवेदीले अर्थमन्त्रालयमा बस्दा राम्रो छवि बनाएका छैनन्, बरु उल्टै उनी सधैं शक्ति केन्द्र र अर्थमन्त्रीलाई रिझाएर लाभको पदमा रहिरहने खालको चरित्र भएको व्यक्ति मानिन्छन् ।

No comments:

Post a Comment