Wednesday, July 9, 2014

मलाई बाइपास गरी सुवेदीका बारेमा निर्णय : पण्डित

काठमाडौं, २५ असार– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अस्ट्रेलियाका पीआरधारी सहसचिव भरत सुवेदीलाई मन्त्रिपरिषदले अर्थमन्त्रालयमा सार्ने भनी गरेको निर्णयमा आफूलाई बाइपास गरिएको बताएका छन् ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै आफ्नो मन्त्रालयको प्रस्तावबिना नै सुवेदीलाई अर्थमा पदस्थापना गर्ने निर्णय संविधान, निजामती ऐन तथा मन्त्रिपरिषदको कार्यसम्पादन नियमावलीविपरीत रहेकाले आफूले अदालतमा गएर त्यसका विरुद्ध संवैधानिक उपचार खोज्ने बताए ।
‘मैले नया“ कानुन ल्याएर पीआर र ग्रीनकार्डवाला कर्मचारीलाई कारबाही गर्छु भन्दाभन्दै अस्ट्रेलियाको ग्रीनकार्ड भएका सुवेदीलाई मन्त्रिपरिषद बैठकले मेरो अनुपस्थितिमा र मेरो मन्त्रालयको प्रस्तावबिना नै मलाई बाइपास गरी अर्थमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेछ’ पण्डितले कार्यक्रममा भने– ‘सामान्यको प्रस्ताव र सहमतिबिना सुवेदीको सरुवाको निर्णय कसरी अनुमोदन हु“दो रहेछ म पनि हेर्छु ।’
नया“ बढुवा भएका सहसचिवको पदस्थापना सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले गर्छ । तर चैतमा सहसचिवमा बढुवा भएका सुवेदीलाई कार्यवाहक प्रधानमन्त्री वामदेव गौतम र अर्थमन्त्री रामशरण महतको प्रस्ताव र मिलोमतोमा मन्त्रिपरिषदबाट अर्थमन्त्रालयमा पदस्थापना गर्ने निर्णय गरिएको हो ।

पण्डितले आफू एमालेको महाधिवेशनमा व्यस्त रहेका बेला कार्यवाहक प्रधानमन्त्री गौतम र अर्थमन्त्री महतले कसरी सुवेदीको पदस्थापना गरेका हुन्, दुवैसित आफूले जवाफ खोज्ने बताएका छन् ।
कार्यवाहक प्रधानमन्त्री गौतमले आफ्नो पार्टी एमालेको महाधिवेशनमा आफू र आफ्ना समर्थक नेतालाई जिताउन मोटो आर्थिक लाभ लिएर सुवेदीलाई अर्थमन्त्रालयमा पदस्थापना गराएको आवाज उठेपछि उनले निर्णयलाई था“ती राख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उच्च अधिकारीलाई निर्देशन दिएको स्रोतले उल्लेख गरेको छ ।


No comments:

Post a Comment