Tuesday, July 15, 2014

नर्भिकमा बिरामीमाथि लापर्बाही गर्नेमाथि कडा कारबाही गर्न निर्देशन

निजी, सामुदायिक र सरकारी अस्पतालहरू नियमित अनुगमन गर्न स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिललाई निर्देश
काठमाडौं, ३१ असार– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निजी, नर्सिङ तथा सरकारी अस्पतालहरूमा बिरामीमाथि चिकित्सकबाट भइरहेको लापर्बाही र खेलबाडप्रति गम्भीर भई छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिललाई मंगलबार निर्देशन दिएको छ ।
कार्यालयले हालै नर्भिकका डाक्टरको लापर्बाहीले बिरामी  अमी रिसाल डिप कोमामा परेको भनी प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त अस्पतालमा भएको यस गम्भीर घटनाको विज्ञ चिकित्सकबाटै  छानबिन गराई यथाशीघ्र सत्यतथ्य उजागर गरी दोषी जोेकोही भए पनि बिना मोलाहिजा कडा कारबाही गर्न मेडिकल काउन्सिल स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । 

कार्यालयले विज्ञप्ति जारी गरी उक्त घटनामा कारबाही गरिएको जानकारी आफूलाई तत्काल गराउनसमेत काउन्सिललाई निर्देशनमा दिएको छ । विभिन्न समयमा निजी, सामुदायिक तथा सरकारी अस्पतालहरूबाट प्रदान हुने स्वास्थ्य सेवामा देखाउनुपर्ने कुशलता र संवेदनशीलता देखिएको नपाइएकाले बिरामीहरूप्रति लापर्बाही बढिरहेको र रोगको सही निदानसहित उपचार हुन नसकेको नर्भिकको घटनाबाट स्पष्ट भएकोसमेत प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ ।

प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनमा आगामी दिनमा स्वास्थ्य संस्थाहरूमा यस प्रकारको लापर्बाही नहुने वातावरण बनाउन एवं बिरामीलाई स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवा सुलभ बनाई गुणस्तर कायम गर्न चिकित्सक तथा व्यवस्थापन पक्षलाई समेत जिम्मेवार बनाउने गरी नियमित रूपमा निजीसहित सबै अस्पतालहरूको नियमित अनुगमन गर्नसमेत स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिललाई कडा निर्देश गरेको छ ।
यो निर्देशनको पालना गराई आवश्यक अनुगमन गर्न स्वास्थ्य मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीले दिए ।

No comments:

Post a Comment