Saturday, June 8, 2019

चार देशमा राजदूत सिफारिस

अस्ट्रेलियामा महेश दाहाल, कतारमा नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्र
काठमाडौं, २४ जेठ– सरकारले चार मित्रराष्ट्रका लागि कूटनीतिक अनुभव नभएका चार जनालाई राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
राजदूत सिफारिसमा सत्तारूढ नेकपाभित्रको शक्ति सन्तुलन मिलाइएको छ । सिफारिसमा परेका चार जना प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकटका व्यक्ति हुन् । सरकारले राजदूत सिफारिस गरेको निर्णय औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।
तत्कालीन राजदूत लक्की शेर्पा फर्किएपछि खाली भएको अस्ट्रेलियामा अध्यक्ष दाहालको प्रस्तावमा उनीनिकट दाहाललाई सिफारिस गरिएको छ । नेपाल टेलिभिजनको अध्यक्ष भइसकेका दाहाल अध्यक्ष दाहालका जिल्लावासी र नातेदार हुन् ।
भारद्वाज प्रधानमन्त्री ओलीकै प्रस्तावमा राजदूत सिरफारिसमा परेका हुन् । झापाकाण्डमा १२ वर्ष जेल परेका उनी त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विषयको सहप्राध्यापकबाट रिटायर्ड हुन् । पार्टी एकता हुनुअघि उनी तत्कालीन एमालेको विदेश विभागका सदस्य थिए ।
राजदूत सिफारिस दावाफुटी शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामुकी छोरी हुन् । ३७ वर्षीया शेर्पा प्रधानमन्त्री ओलीको प्रस्तावमा राजदूत सिफारिसमा परेको स्रोतको भनाइ छ । उनी दुई महिनाअघि पासाङ ल्हामु प्रतिष्ठानको अध्यक्ष चुनिएकी छन् । अमेरिकाबाट मास्टर्स डिग्री गरेकी उनी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा समेत कार्यरत थिइन् ।
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत डा. चोपलाल भुसाललाई फिर्ता गरिएपछि रिक्त बंगलादेशमा सिफारिस डा. मिश्र पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा नेता हुन् । मिश्र वरिष्ठ नेता नेपालको प्रस्तावमा राजदूत सिफारिसमा परेका हुन् ।
सरकारले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेको छ ।
मुख्यसचिव सात दिन बिदामा
यसैबीच मुख्यसचिव लोकदर्शन रेग्मी ७ दिन लामो बिदामा बसेका छन् । उनी आइतबारदेखि लागू हुने गरी बिदामा बसेको स्रोतले जानकारी  दिएको छ । सरकारले नयाँ मुख्यसचिव नियुक्तिका लागि रेग्मीलाई राजदूत सिफारिस गर्ने तयारी गरिरहेको हल्ला चलिरहेका बेला उनी बिदा बसेका हुन् ।


No comments:

Post a Comment