Monday, June 17, 2019

रेलवार्ता गर्न नेपाली टोली चीनमा

काठमाडौं, १ असार– काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी लगायतका विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था सचिव देवेन्द्र कार्की नेतृत्वको नेपाली टोलीमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकार तथा अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
चिनिया“ सरकारको निमन्त्रणामा नेपाली टोली वार्ता गर्न चीनमा गएको हो । नेपाली टोलीले चीनको नेसनल रेल्वे अथोरिटीका पदाधिकारीसँग द्विपक्षीय छलफल गर्ने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार दुई पक्षबीच जतिसक्तो छिटो विस्तृत इन्जिनियरिङ अध्ययन सुरु गरी रेलमार्गको डीपीआर तयार गर्नेबारेमा सहमतिको खाका तयार गर्ने छ । उनका अनुसार नेपाली र चिनियाँ अधिकारीबीच रेलमार्गमा लगानी र निर्माण ढाँचालगायतका विषयमा समेत छलफल हुनेछ । चिनियाँ पक्षले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाएको एक वर्ष भइसकेको छ । नेपाली टोली नेपाल–चीन रेल्वे को–अपरेसन समितिको बैठकमा समेत सहभागी हुनेछ ।
काठमाडँैं–केरुङ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ । रेलमार्ग निर्माण गर्न नौ वर्ष लाग्ने र लागत करीब ३ खर्ब रुपैयाँ पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

   

No comments:

Post a Comment