Friday, June 28, 2019

दुई इन्जिनियर घुससहित पक्राउ, चारविरुद्ध मुद्दा

काठमाडौं, १२ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाँच जनालाई घूस रकमसहित समातेको छ ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डिभिजन इन्जिनियर (उपसचिव) अजितकुमार श्रीवास्तवसहित दुई जनालाई अख्तियारले बिहीबार घूस रकमसहित पक्राउ गरेको छ । पक्राउ परेकामा डिभिजन कार्यालयका इन्जिनियर ग्रीष्मा ठगुन्नासमेत छन् ।
श्रीवास्तव र ठगुन्ना निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको बिल फरफारक गराइदिने नाममा सेवाग्राहीसँग लिएको २ लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
अख्तियारले बारा जिल्ला प्रसौनी गाउँपालिकाको कार्यालयबाट आसपुरन कुशवाहालाई घूस रकमसहित पक्राउ गरेको छ । गाउ“पालिकाका योजना शाखाका खरिदार विनोद यादवले नाला निर्माणको बिलबमोजिमको रकम भुक्तानीका क्रममा कुशवाहामार्फत सेवाग्राहीस“ग १५ हजार घूस लिएका थिए । कुशवाहा घूस रकमसहित पक्राउ परेको र खरिदार यादवमाथिसमेत छानबिन भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।यातायात व्यवस्था विभागमातहतको हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछानेसहित ४ जनाविरुद्ध पनि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ ।
लामिछाने र मेट्रो ड्राइभिङ स्कुलका सञ्चालक खगेन्द्रप्रसाद काफ्लेले यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँगै ४० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उक्त घूस लेनदेन प्रकरणमा संलग्न यातायात व्यवस्था कार्यालयका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशरबहादुर राय मल्लविरुद्ध समेत मुद्दा चलाएको छ ।


No comments:

Post a Comment