Sunday, June 16, 2019

नेकपाकै सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

काठमाडौं, ३२ जेठ– सत्तारूढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौं–५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ । कि सार्वजनिक रूपमा माफी माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्,’ रिपोर्टर्स क्लबद्वारा राजधानीमा शनिबार अयोजित कार्यक्रममा उनले भने, ‘सरकारको प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ भने, राजीनामाबाहेक अर्को बाटो हुँदैन ।’
मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलाई सान्त्वना दिनुपर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु हुने बताए ।
मानन्धरले प्रधानमन्त्री केपी ओली युरोपबाट फर्केपछि विधेयक फिर्ता लिन दबाब दिने उल्लेख गर्दै फिर्ता नभए राजधानीमा आन्दोलनको आँधीबेहरी सुरु हुने चेतावनी दिए ।
सरकारले सदियौंदेखि गुठीमार्फत संरक्षित सम्पदा, संस्कृति र परम्परा मास्न खोजेको बताए । कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म आफ्नो पार्टीले संसद् चल्न नदिने बताए । उनले सञ्चारमन्त्री बाँस्कोटा राजधानीको धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
पशुपति विकास क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव गोविन्द टण्डनले गुठी विधेयकले राजधानीको संस्कृतिमाथि धावा बोलेको बताए । ‘गुठी भनेको हाम्रा पूर्वजहरूले गुठियारहरूलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो’, उनले भने, ‘त्यसलाई सरकारले कानुन बनाएर मास्न पाउँदैन ।’

No comments:

Post a Comment