Wednesday, June 26, 2019

स्थानीय तहलाई तीन दिनभित्र बजेट विवरण पठाउन निर्देशन

काठमाडौं, ११ असार– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन दिएको छ । सरकारले असार १० भित्र सबै स्थानीय तहलाई बजेट गाउँ तथा नगरसभामा पेस गरिसक्न निर्देशन दिएको थियो । सबै स्थानीय तहले सभामा बजेट पेस गरे÷नगरेको जानकारी लिन तीन दिनभित्र विवरण पठाउन निर्देशन दिइएको जानकारी मन्त्रालय स्रोतले दिएको छ । बजेटको आयव्ययसहितको विवरण पठाउन भनिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐनमा गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार १० भित्र आवको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ/नगर सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार अधिकांश स्थानीय तहले मंगलबार बजेट प्रस्तुत गरिसकेका छन् । तर, अघिल्लो वर्ष ५५ वटा स्थानीय तहले गाउँ÷नगरसभामा बजेट प्रस्तुत नगरी खर्च गरेका थिए ।
यसपटक त्यस्तो गैरकानुनी कार्य नदोहोरियोस् भनेर असार १० भित्र बजेट पेस गरिसक्न र त्यसको विवरण केन्द्रमा पठाउन निर्देशन दिइएको जानकारी संघीय मामिला मन्त्रालयका अधिकारीले दिए । मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् ।




No comments:

Post a Comment