Friday, June 28, 2019

बयानका लागि बोलाइए तीन ‘भूमाफिया’

जग्गा खरिद गरेका नेकपाका महासचिव विष्णु पौडेल र किनबेच गराउन प्रमुख भूमिका निर्वाह गरेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङलाई भने अझै बयानमा बोलाइएन
काठमाडौं, १२ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा बयान लिन तीन जनालाई बोलाएको छ । अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गरी प्रमुख आरोपी मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र तत्कालीन प्रमुख मालपोत अधिकृत हुपेन्द्रमणि केसीलाई ७ दिनभित्र बयानका लागि बोलाएको हो ।
ललिता निवासको जग्गा अतिक्रमणको छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित समितिले प्रतिवेदनमा ढकाल र सुवेदीलाई ‘भूमाफिया’ भनेको छ । डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन अधिकृत र प्रमुख अधिकृतका हैसियतमा हुपेन्द्रमणि केसीको बालुवाटारको सरकारी जग्गा अनधिकृत रूपमा व्यक्तिका नाममा गर्ने÷गराउने कार्यमा प्रमुख भूमिका थियो ।
बालुवाटारको जग्गा प्रकरणमा बुधबार सार्वजनिक सूचना जारी गरी ८६ जनालाई बयानका लागि बोलाएको भोलिपल्ट अख्तियारले मुख्य तीन आरोपीलाई पनि बोलाएको हो । ललिता निवासको २ सय ९९ रोपनी सरकारी जग्गामध्ये ११३ रोपनी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा ल्याउने र त्यसलाई किनबेच गर्ने कार्यमा ढकाल र सुवेदीको प्रमुख भूमिका देखिएको छ । त्रिताल समितिको प्रतिवेदनका आधारमा अख्तियारले ललिता निवासको अतिक्रमित जग्गा छानबिन सुरु गरेको हो ।
अख्तियारले सुवेदी र ढकालसित जग्गा खरिद गरेका नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई भने बयानमा बोलाएको छैन । पौडेलले ढकाल र सुवेदीसित ८ आना जग्गा खरिद गरेका छन् । ढकाल र सुवेदीमार्फत सबभन्दा बढी जग्गा खरिद गरेका र किनबेच गराउनसमेत प्रमुख भूमिका निर्वाह गरेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङलाई पनि अख्तियारले बयानमा बोलाएको छैन । गुरुङको भाटभटेनी डिपार्टमेन्टल स्टोर्स ललिता निवासकै अतिक्रमित जग्गामा छ ।
कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले २०४७ सालमा पञ्चायतकालमा तत्कालीन सरकारले राजनीतिक पूर्वाग्रह राखी कब्जा गरेको जग्गा फिर्ता गर्ने निर्णय गरेको थियो । कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाका हकदार, ढकाल र सुवेदीले तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका अधिकारीहरूसँग मिलेमतो गरी भट्टराई सरकारको निर्णयको अपव्याख्या गरेर ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिका नाममा हस्तान्तरण गरेका थिए । मालपोतकै कर्मचारीहरूसितकै मिलेमतोमा ढकाल र सुवेदीले उक्त जग्गा किनबेच गर्दै आएका छन् ।


No comments:

Post a Comment