Wednesday, June 19, 2019

लोकसेवाको दरखास्त दिने म्याद थप

स्थानीय तह कर्मचारी भर्ना विवाद
काठमाडौं, ३ असार– लोकसेवा आयोगले स्थानीय तहमा रिक्त कर्मचारीका लागि खोलेको विज्ञापनमा दरखास्त दिने म्याद ७ दिन थपेको छ । अनलाइनबाट दरखास्त लिइने सिस्टममा सोमबारदेखि समस्या आएको थियो । त्यसैले आयोगको मंगलबारको बैठकले म्याद थप्ने निर्णय गरेको हो ।
आयोगको सर्भरमा समस्या आएपछि धेरै आवेदकले अनलाइनबाट दरखास्त दिन पाएका थिएनन् । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म थियो । आयोगले विज्ञप्ति जारी गर्दै असार १० सम्मलाई दरखास्त दिने म्याद थपिएको जनाएको छ । आयोगका अनुसार दोब्बर दस्तुर तिरेर असार १७ सम्म दरखास्त दिन सकिने छ ।
आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि विज्ञापन गरेको छ । लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै सडक र संसद्मा विरोध भइरहेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले लोकसेवा र सरकारलाई विज्ञापन नै रद्द गर्न निर्देशन दिइसकेको छ ।
सरकार र आयोगले कानुनबमोजिम विज्ञापन रद्द गर्न नमिल्ने जिकिर गर्दै आएका छन् । मंगलबारसम्म २ लाख जनाले आवेदन दिइसकेका छन् । आयोगको विज्ञापनको पक्ष÷विपक्षमा सर्वोच्च अदालतमा रिट पनि परेको छ । सर्वोच्चले मंगलबार पक्ष÷विपक्षमा परेका सबै रिटलाई एकैपटक पेस गरी अन्तरिम आदेश दिने÷नदिनेबारे कुनै निर्णय गरेन । आयोग समितिको निर्देशन कार्यान्वयन गर्नुभन्दा सर्वोच्चको निर्णयको प्रतीक्षा गरिरहेको छ भने सरकारले विज्ञापन रद्द गर्ने कानुनी आधार नरहेको दाबी गर्दै आएको छ ।




No comments:

Post a Comment