Sunday, June 23, 2019

निलम्बित सांसद चौधरीको नेल हटाइयो

नेल लगाउन आदेश दिनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, ७ असार– वीर अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टीका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको फलामे सिक्री (नेल) हटाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चौधरीको नेल हटाइएको हो । प्रधानमन्त्रीले उनलाई अस्पतालमा नेल लगाएर राख्न आदेश दिने जेल प्रशासनका अधिकारीलाई कारबाही गर्न पनि निर्देशन दिएका थिए । ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई शनिबार फोन गरी उक्त निर्देशन दिएका थिए । डिल्लीबजार कारागारबाट अस्पताल लगिएका चौधरीलाई कारागार प्रमुखकै आदेशमा नेल लगाइएको स्रोतले जनायो ।
मुख्यसचिव रेग्मीले गृहसचिव प्रेमकुमार राईलाई फोन गरी चौधरीलाई अस्पतालमा नेल लगाएर राख्न लगाउने जेल प्रशासनका सम्बन्धित अधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । सचिव राईले गृह मन्त्रालयले आन्तरिक छानबिन गरी दोषीमाथि कारबाही गर्ने मुख्यसचिवलाई जानकारी गराएका छन् ।
चौधरीलाई नेल लगाएर राखिएको तस्बिर शुक्रबार दिउ“सोदेखि सामाजिक सञ्जाल र अनलाइनमार्फत सार्वजनिक भएपछि तीव्र विरोध भएको थियो । चौधरीको कम्मर र ढाडको दुखाइ कम गर्न चिकित्सकले फिजियोथेरापी गराउन सुरु गरेका छन् । चिकित्सकले दुई साता अस्पतालमै राखेर उपचार गर्नुपर्ने जानकारी परिवारलाई दिएका छन् । चौधरी बैसाखीको सहारामा आएको जानकारी अस्पताल स्रोतले जनायो । फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको हो । उनलाई भाग्न नदिन अस्पतालमा हतियारधारी प्रहरी तैनाथ छन् ।
स्रोतका अनुसार मुलुकमा कैद सजाय भुक्तान गरिरहेका जुनसुकै व्यक्तिलाई कारागार प्रशासनको आदेशमा अस्पतालमा नेल लगाएरै राख्ने चलन छ ।
समाजवादी पार्टी नेपालका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले शनिबार चौधरीलाई अस्पतालमा भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए । भट्टराईले चौधरीलाई नेल लगाइएकामा विरोध गरेका थिए ।
संविधानसभाबाट संविधान जारी हुनुअघि थरुहट आन्दोलन क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनक्रममा एसएसपी र नाबालकसहित ९ जनाको हत्या घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैद सुनाएको थियो । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भए । सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा संसद् सचिवालयमा ल्याई सांसद पदको शपथग्रहण गराएको थियो । जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि उनी सांसद पदबाट निलम्बित छन् ।

No comments:

Post a Comment