Thursday, June 6, 2019

सिंहदरबारमा प्रधानमन्त्रीले रोपे एभोकाडो

‘फलफूलको बिरुवा रोपण अभियान’ को सुरुआत
काठमाडौं, २२ जेठ– प्रधानमन्त्री केपी ओलीले एभोकाडोको बिरुवा रोपेर देशव्यापी ‘फलफूलको बिरुवा रोपण अभियान’ को सुरुआत गरेका छन् ।
विश्व वातावरण दिवसको उपलक्ष्यमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको बिरुवा रोपेर प्रधानमन्त्रीले ‘एक नेपाली एक फलफूलका बिरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’ को औपचारिक उदघाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले वातावरण दिवसमा दिएको सन्देशमा आफूलाई एभोकाडो फल मन पर्ने भएकाले एभोकाडोको विरुवा रोपेको उल्लेख गरेका छन् ।
त्यस क्रममा सिंहदरबार परिसरमा २८ वटा एभोकाडोको बिरुवा रोपिएका छन् । ‘एक नेपाली, एक फलफूलका बिरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’ को उदघाटन कार्यक्रममा मन्त्री, उच्च पदस्थ कर्मचारी, सरकारका उच्च पदाधिकारीको उपस्थिति थियो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री बिना मगर, उद्योगमन्त्री मात्रिका यादवलगायतले समेत सिंहदरबार परिसरमा फलफूलका बिरुवा रोपेका थिए । सरकारले आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रूपमा मनाउने घोषणा गरेको छ ।
कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्तबमोजिम बाँझो र खाली जग्गामा फलफूलका बिरुवा रोप्ने नीति कार्यान्वयन गर्न बुधबार फलफूलका बिरुवा रोपणलाई निरन्तरता दिने कार्यक्रमको सुरुआत गरिएको हो । कास्की, लमजुङ, रोल्पा, पर्वत र उदयपुरमा सबभन्दा बढी बिरुवा रोपिएको जानकारी कार्यक्रममा दिइएको थियो ।


No comments:

Post a Comment