Friday, June 21, 2019

दुईविरुद्ध मुद्दा, दुई जना घुससहित समातिए

काठमाडौं, ५ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । दुई जनालाई घूस रकमसहित पक्राउ गरेको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भद्रपुर झापाका शाखा अधिकृत सुमेन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमालविरुद्ध मुद्दा दायर गरिएको हो ।
मण्डल र धितालले विद्युत् जडान तालिम सञ्चालन गरेबापतको बजेट निकासा दिन आलटाल गरी सेवाग्राहीस“ग ३५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जानकारी दिएको छ । उनीहरू दुवै जनालाई घूस रकम बराबर बिगो जरिवाना र जेल सजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।
यसैबीच अख्तियारले काठमाडौं महानगर ९ वडा कार्यालय, गौशालाका तेस्रो तहका कर्मचारी गोविन्द खडकालाई घूस रकमसहित समातेको छ । कर तिर्न आएका व्यवसायीसँग लिएको १० हजार रुपैयाँ घूससहित खडका पक्राउ परेको अख्तियारले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
रूपन्देहीको मर्चवारी गाउँपालिका १ का रामराज यादव पनि जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रहरीलाई घूस दिन खोजेकामा समातिएको अख्तियारले जनाएको छ।अनुसन्धान क्रममा रहेका दुई मोटरसाइकल छुटाउन घूस दिन ल्याएको १० हजार रुपैयाँसहित उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले अख्तियारलाई बुझाएको हो ।

No comments:

Post a Comment