Tuesday, June 11, 2019

६ जनाविरुद्ध मुद्दा, एक जना घुससहित पक्राउ

काठमाडौं, २७ जेठ– जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. घ, बाराका तत्कालीन कार्यालय प्रमुख हीरानन्द झासहित ५ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठेकेदारसितको मिलेमतोमा सर्लाही र रौतहट जिल्लामा बागमती नदी नियन्त्रण योजनामा ८५ लाख ९० हजार रुपैयाँ हिनामिना गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार मुद्दा दायर गरिएकामा झाका अतिरिक्त डिभिजन कार्यालय (घ)का तत्कालीन लेखा प्रमुख (लेखापाल) अरुण कुमार राई र तीनवटा निर्माण कम्पनीका सञ्चालक क्रमशः तेण्डी शेर्पा, जीवन थापा र रेवन्तकुमार बस्नेत छन् । अख्तियारले उनीहरूलाई जनही ८५ लाख ९० हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।
यसैगरी अख्तियारले बाँके जिल्लाका राप्तिसोनारी गाउ“पालिका–१ स्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा कामीले काठ उपलब्ध गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले रूपन्देही जिल्ला अदालत बाल इजलासकी बाल मनोविज्ञ शान्तिदेवी अधिकारीलाई घुससहित पक्राउ गरेको छ । अधिकारी बाल मनोविज्ञान प्रतिवेदन सरल रूपमा तयार गरी छिटो पेशी गरिदिन्छु भनी सेवाग्राहीसँग लिएको १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ ।


No comments:

Post a Comment