Thursday, June 13, 2019

पत्रकार महासंघद्वारा थप आन्दोलन घोषणा

काठमाडौं, २८ जेठ– नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने गरी ल्याइएको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन सरकारलाई दबाब दिन तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । दुई चरणको आन्दोलनबाट माग पूरा नभएपछि महासंघको मंगलबार बसेको केन्द्रीय समिति बैठकले एक महिना लामो कार्यक्रम घोषणा गरेको हो ।
असार ३ मा प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान चलाउने, असार ६ मा संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने, असार १० मा मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रदर्शनी गर्ने कार्यक्रम छ । 
महासंघले असार १५ मा सबै जिल्ला शाखाहरूले विधेयकविरुद्ध आ–आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरूलाई एसएमएसमार्फत सन्देश पठाएर ध्यानाकर्षण गराउने, असार २० मा बृहत् ‘प्रेस स्वतन्त्रता सभा’ गर्ने, असार २५ मा मध्याहन १२ः०० बजे लालटिन जुलुस र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम राखेको छ । महासंघले उक्त विधेयक संघीय संसद्मा छलफलका लागि पेस हुने दिन देशव्यापी रूपमा आकस्मिक विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत घोषणा गरेको छ ।


No comments:

Post a Comment