Wednesday, June 19, 2019

सञ्चार माध्यमले ‘तपाईं’ भन्नसमेत जान्दैनन् : प्रधानमन्त्री

काठमाडौं, ३ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरूमाथि नेपाली भाषा बिगारेर प्रयोग गर्ने गरेको आरोप लगाएका छन् । सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यमका कारण नेपाली भाषाका आदरार्थी शब्द हराउन लागेकोमा चिन्ता व्यक्त गरे ।
‘हाम्रो समाज र भाषा शिष्ट छ, तर हाम्रा टेलिभिजन र सञ्चारमाध्यमहरूले तपाईं भन्नसमेत जान्न छाडिसके,’ उनले भने, ‘त्यही कारण तपाईं भन्ने शब्दै हराइसक्यो ।’
भाषा र संस्कृतिको कुरा गर्ने सञ्चारमाध्यमहरूले नै भाषाको मर्म र मर्यादा नबुझेको औंल्याउँदै उनले ‘नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन छ’ भन्ने सम्झाए । ‘हाम्रा सञ्चारमाध्यमले बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबाउलाई पनि तिमी, हजुरआमालाई पनि तिमी, यो त नेपाली भाषा र सभ्यताभित्र पर्दैन,’ उनले भने ।
कतिपयलाई आफ्नो कुरा मन नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली भाषाको मर्म, मर्यादा र शिष्टता बुझ्न आग्रह गरे । ‘सबै समान हो भन्नेमात्र पर्ला । कुनै भाषामा लिंग छुट्टिएको हुन्न । कुनै भाषामा आदरार्थी शब्द हु“दैनन्,’ उनले भने, ‘हरेक भाषाको आ–आफ्नै मर्म हुन्छ । हाम्रो भाषाका आफ्नै मर्म र मर्यादा छन् ।’
स्थापित सञ्चार माध्यमहरूले सामाजिक सञ्जाललाई गुरु र मानक मान्दा नेपाली भाषाको शिष्टता बिर्सन थालेको उनले टिप्पणी गरे । ‘सामाजिक सञ्जाललाई फलो गरेर भाषा, शैली, संस्कृति, बोलाइचलाइ गर्ने हो भने हामी कस्तो समाज सिर्जना गर्छौं ?’ उनले प्रश्न गरे ।
मर्म नबुझी गरिने भाषाको प्रयोगले नयाँ पिढीका बालबालिकालाई बढी असर पर्ने भएकाले संवेदनशील हुनुपर्ने विचार व्यक्त गर्दै उनले थपे,‘आफूलाई विद्वान् ठान्नेहरूले बोलेको मैले सुनेको छु।सुन्दा सरम लाग्छ । संस्कृतिको रक्षा गर्ने शब्द बोलेको हुन्छ, त्यहाँभित्र अमर्यादा, अभद्रता, सांस्कृतिक मूल्यहरूको अभाव देखिन्छ ।’
अमर्यादित भाषाका कारण उत्पन्न हुने परिणामप्रति सचेत हुनसमेत उनले सबैलाई सुझाए । ‘हामी सबै परिवार र समाजमा बाँच्नुपर्छ । आफ्ना कुरा भनौं ठीक छ । तर तर्कपूर्ण, तथ्यपूर्ण र मर्यादित ढंगले भनौं भन्ने मेरो आग्रह हो,’ उनले भने ।
प्रधानमन्त्रीको भाषिक चिन्ताप्रति सामाजिक सञ्जालमा भाषाविद्हरूले चाखलाग्दा टीकाटिप्पणी गर्न थालेका छन् । केदार शर्माले मिडियामा तिमी र तपाईं दुवैको प्रयोग गर्ने हो भने ठूलो अन्योल हुने टवीटरमा लेखेका छन् । कसलाई तिमी र कसलाई तपाईं सम्बोधन गर्ने र किन भन्ने कुरालाई तर्कसम्मत हिसाबले पर्गेल्न गाह्रो हुन्छ भन्दै उनले जोडेका छन्, ‘हाल मुख्य मिडियाले तृतीय पुरुषमा तिमी भने पनि कसैले तिमी सम्बोधन गरेको छैन ।’
नेपाली मिडियाले ‘तिमी’ भन्न थालेको अहिलेको होइन तर भाषिक संस्कारप्रति यत्रो संवेदनशीलता भएको मान्छेले पहिले कहिल्यै यसबारेमा बोल्नुभएको होइन भन्दै शर्माले टिप्पणी गरेका छन्, ‘अहिले आफूले भोगेको सत्ताको न्यानो र मिडियाको सम्बोधनको चिसोपन नमिलेर मात्र गुनासो आएको हो ।’


No comments:

Post a Comment