Thursday, June 13, 2019

३३४ सांसदलाई ल्यापटप

  • संसद् सचिवालयलाई पेपरलेस बनाउने तयारी
  • सांसदलाई चलाउनसमेत सिकाइने
  • पेपर, प्रिन्ट र फोटोकपीका लागि हुने खर्च कटौती हुने
काठमाडौं, २८ जेठ– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३ सय ३४ सांसदलाई एकएकवटा ल्यापटप दिने भएको छ । सांसदहरूलाई ‘पेपरलेस’ र ‘सूचना प्रविधिमैत्री’ बनाउन सचिवालयले अत्याधुनिक ल्यापटप दिन लागेको हो ।
सचिवालयले आर्थिक वर्षको अन्त्यमा अर्थ मन्त्रालयको सहमतिमा बजेट रकमान्तर गरी ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ । सचिवालयले प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदका लागि ल्यापटप खरिद गर्न गत जेठ १९ मा बोलपत्र आहवान गरिसकेको छ ।
बोलपत्रबाट छनोट हुने प्रस्तावक कम्पनीले एक महिनाभित्रै ३ सय ३४ ल्यापटप उपलब्ध गराउने सचिवालय स्रोतले जानकारी दिएको छ । राज्यकोषबाट करिब साढे ३ करोड रुपैया“ खर्चेर सांसदका लागि ल्यापटप दिन लागिएको हो ।
सबै सांसदलाई ल्यापटप उपलब्ध गराइसकेपछि सचिवालयको पेपर, प्रिन्ट र फोटोकपीका लागि हुने खर्च कटौती हुने सचिवालय स्रोतको दाबी छ । ‘सांसदले आफ्नो प्रस्ताव र टिपोट ल्यापटपमै तयार गर्नेछन् । आफूलाई चाहिने डकुमेन्टसमेत त्यसमै राख्नेछन्,’ सचिवालय स्रोतले भन्यो, ‘सांसदबीच प्रस्ताव र डकुमेन्टको आदानप्रदान पनि त्यसबाटै हुनेछ ।’
सचिवालयले सांसदहरू सूचना प्रविधिमैत्री हुँदै गएपछि उनीहरूलाई संसद्मा दर्ता हुने विधेयक, प्रस्ताव र अन्य डकुमेन्टसमेत इन्टरनेटमार्फत पठाउने र त्यसबाट कागजमा हुने ठूलो खर्च बचत हुने स्रोतको दाबी छ । ‘बिस्तारै संघीय संसद् सचिवालय पेपरलेस हुँदै जानेछ,’ स्रोतले कान्तिपुरस“ग भन्यो ।
संघीय संसदका सबै समितिका बैठकलाई समेत बिस्तारै प्रविधिमैत्री र पेपरलेस बनाउ“दै लैजाने तयारी भइरहेको छ । त्यसलाई ल्यापटपले सहयोग पु¥याउने सचिवालय अधिकारीहरूको विश्वास छ ।
सांसदलाई पहिलो पटक ल्यापटप दिन लागिएको हो । सचिवालयले सांसदलाई ल्यापटप चलाउन पनि सिकाउनेछ । ‘ल्यापटप र इन्टरनेट चलाउन नजान्ने सांसदलाई सचिवालयले छोटो समयको तालिम दिनेछ,’ स्रोतले भन्यो । सचिवालयले ‘क्षमता अभिवृद्धि’ शीर्षकमा रहेको बजेटबाट सांसदलाई तालिम दिने तयारी गरेको छ । ल्यापटप चलाउन नजान्ने सांसदको संख्या संसद्मा ठूलो रहेको सचिवालयको अनुमान छ ।
सचिवालयले राज्यको ढुकुटीबाट ल्यापटप किनेर दिनुपर्ने सांसद कमै रहेको स्रोतले उल्लेख गरेको छ । ‘धेरैजसो सांसद ल्यापटप आफैं किन्ने हैसियतका छन् । जो सांसद इन्टरनेट र कम्प्युटरमैत्री छन्, उनीहरू सबैसँग ल्यापटप छ,’ सचिवालयकै एक अधिकारी भन्छन्, ‘जोजो सांसदले चलाउन जान्दैनन्, तिनलाई ल्यापटप र प्रशिक्षण दिए पनि चलाउ“दैनन् । त्यस्ता सांसदलाई ल्यापटप दिनु राज्यको ढुकुटीको दुरुपयोग मात्र हो ।’


No comments:

Post a Comment